हाम्रो नेपाली सेनाले मादल बजाएर विश्व रेकर्ड बनायो

Highlights राष्ट्रिय समाचार

भाइबिहनीहरु, यस पटक हामी निकै खुसीको समाचार लिएर आएका छौँ ।

हाम्रो नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा २०७९ फागुन ६ गते सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डन) का नेपाल प्रतिनिधिले हस्तान्तरण गर्नुभयो ।

नेपाली सेनाको सङ्गठन स्थापनाको दुई सय ६० औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डन) का नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गर्नुभएको थियो । 

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजा मध्ये एक हो । नेपाली मौलिक चाड दसैँ, तिहार, संक्रान्ति, देउसी, भैलो, जात्रा लगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले आफ्नो महसुस गर्ने साझा बाजाका रूपमा मादललाई लिने गरिन्छ ।

वर्ल्ड बुक अफ रेकर्डस् संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।  नेपालको मौलिक बाजा मादललाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको यो नौलो र पहिलो प्रयास सफल भएकोमा नेपाली सेनाले प्रसन्नता व्यक्त गरेको छ । धेरै जनाको समूहले एकै पटक विभिन्न तालमा मादल बजाएर कायम गरिएको यो रेकर्ड वर्ल्ड बुक रेकर्डमा सङ्ग्रहित गरिएको हो ।

हाम्रो देश नेपालमा व्यापक रूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपालाी बाजा र नेपाललाई संसारभर परिचित गराउन सफल भएको विश्वास गरिएको छ ।

https://youtu.be/AE5wvg0quPs

Leave a Reply

Your email address will not be published. Required fields are marked *