२०७९ फागुन ७ / यस वर्षको युद्धप्रसाद स्मृति पुरस्कार वरिष्ठ बालसाहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानने आयोजना गरेको ३३औ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
साहित्यकार मानन्धरलाई ३१ हजार नगदसहित सो पुरस्कार प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा प्रगतिवादी गणतन्त्रवादी कवि युद्ध्रप्रसाद मिश्रले पञ्चायती तानाशाही व्यवस्थामा पनि कविताको माध्यमबाट गणतन्त्र ल्याउनुपर्छ भनी नेतृत्व गर्नुभएको कुरा बताइएको थियो ।
सम्मानित बालसाहित्यकार मानन्धरले आफूले बालसाहित्यमा लामो समयसम्म कलम चलाएको बताउँदै बालबालिकालाई स्वस्थ, सचेत र आत्मनिर्भर बनाउन नयाँ पुस्ताले यस क्षेत्रमा कलम चलाउन जरुरी रहेको बताउनुभयो ।
नेपाली जनक्रान्तिका आवाजहरू बुलन्द गर्ने, गणतन्त्रको माग गर्ने, निडरतापूर्वक नेपाली जनआन्दोलनमा दृढताका साथ निरन्तरता दिएर सामाजिक राजनीतिक रुपान्तरणमा मिश्रको महत्वपूर्ण भूमिका निर्वाह गरेको कवि एवं समालोचक डाक्टर रामप्रसाद ज्ञवालीले बताउनुभयो ।