डाक्टर सन्दुकले इसा अवार्ड पाउनुभयो

अन्तर्राष्टिय तस्बिरको कथा मेरो आवाज समाचार

भाइबहिनीहरु, ‘हातमा बत्ती लिएकी केटी’ भनेर फ्लोरेन्स नाइटिंगेललाई विश्वभरिका मानिसहरुले चिने जस्तै आँखाको उपचार गरी ‘उज्यालो दिने डाक्टर’ को रुपमा परिचय बनाउनुभएका हाम्रो नेपाली डा. सन्दुक रुइतलाई सबैले सुपर हिरोका रुपमा चिन्छन् ।

हो, उहाँले नै यस वर्षको विश्व प्रसिद्ध पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली नेत्ररोग विशेषज्ञ डा. रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो।

मानवीय सेवाको क्षेत्रमा आँखा उपचारमा नवीन प्रविधि विकास गरी गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउन डाक्टर रुइतले पुर्‍याउनु भएको विशिष्ट योगदानको निम्ति उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

इसा अवार्ड मानवताका लागि सेवा (सर्भिस टु ह्युम्यानिटी) २०२१-२०२२ बाट नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानव सेवाकर्मी डा. रुइतलाई सम्मानित गरिएको हो ।

 मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इसा अल खालिफाले  इसा अवार्डको पाँचौं संस्करणको इसा अवार्ड डा. रुइतलाई प्रदान गर्नुभयो ।

सो पुरस्कार वापत  डा. रुइतलाई स्वर्ण पदकसहित १० लाख डलर प्रदान गरिएको छ । पाँचौं सत्र २०२१-२०२२ इसा अवार्डका लागि विश्वभरका १४५ जना उम्मेदवारहरूले आवेदन दिएका थिए। ती मघ्येबाट डा. रुइतलाई छनोट गरिएको हो ।

सो अवसरमा  बहराइनका राजा हमाद बिन इसा अल खालिफाले ‘लोकहितकारी कामका लागि डा रूइतलाई सो  अवार्ड प्रदान गरिएको बताउनुभयो।

पुरस्कार ग्रहण गर्दै डा सन्दुक रुइतले आगामी पाँच वर्ष भित्र थप ५ लाख व्यक्तिको मोतिया विन्दूको शल्यकृया सम्पन्न गर्ने प्रतिबध्दता जाहेर गर्नु भयो ।

 डा. रुइतले विकास गर्नुभएको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् ।

डा. रुइतले यसअघि सन् २००६ मा फिलिपिन्सको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भारतबाट पद्मश्री अवार्ड प्राप्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *