फागुन २० गते बालसाहित्य महाेत्सव

Highlights बजारमा नयाँ रमाइलो ठाउँ राष्ट्रिय विद्यालय समाचार समाचार

ललितपुर / रातो बंगला स्कुल र रातो बंगला किताबले आयोजना गर्दै आएकाे बालसाहित्य महोत्सव यस वर्ष यही फागुन २० गते आयोजना गरिने भएकाे छ । याे महाेत्सव सन् २०१५ देखि आयोजना गर्न सुरु गरिएको हो । रातो बंगला स्कुलको प्राङ्गणभित्र आयोजना गरिने यस महोत्सवमा भाग लिन चाहने दर्शकले जनही रु. २०० रुपियाँ शुल्क तिर्नुपर्ने महोत्सवका संयोजक मोनिता गुरुङले बताउनुभएको छ । विगतका वर्षहरुमा २ दिन सञ्चालन हुँदै आएको यो महोत्सव यस वर्ष १ दिनमात्र सञ्चालन गरिने भएको छ ।

महोत्सवमा बालबालिका, शिक्षा, बालसाहित्य, पठन संस्कृति, प्रभावकारी शिक्षण, बालसंवेगको नियन्त्रण लगायत विविध विषयमा छलफल, अन्तरक्रिया र बालबालिकामाझमा रमाइला कार्यक्रमहरु आयोजना गरिने बताइएको छ । महाेत्सवकाे दिन बिहान ९ देखि दिउसाे ५ बजेसम्म विविध कार्यक्रमहरु आयोजना गरिने छन् ।

पुस्तक गीत गाउँदै कक्षा ४ का बालबालिकाहरु

मुख्यगरी रातो बंगला स्कुलमा अध्ययनरत बालबालिकालाई लक्षितगरी आयोजना गरिएको यस महोत्सवमा समुदायका अन्य बालबालिका र अभिभावकहरु पनि सहभागी हुनुहुने विश्वास गरिएकाे छ । विगतका वर्षहरुकाे अनुभवलाई हेर्दा यस वर्ष पनि समुदायका अन्य बालबालिकाहरु र बालबालिकाकाे सिर्जनात्मक विकासमा सचेत अभिभावकहरुकाे उल्लेख्य सहभागिता हुने विश्वास रहेकाे आयोजकले बताएकाे छ ।

यस वर्षकाे महाेत्सवमा लेखक तथा विद्वानहरु कल्पना पराजुली, निरञ्जन कुँवर, मिलन दीक्षित, सन्तोष न्यौपाने, शान्ता दीक्षित, ध्रुव घिमिरे, यशु श्रेष्ठ, अनुराधा शर्मा लगायतले विभिन्न प्रस्तुतिमा भाग लिनुहुने आयोजकले जानकारी गराएको छ । महोत्सवका अवसरमा कनकमणि दीक्षित लिखित चर्चित बाल पुस्तक धूमधामको घुमघाममा आधारित नाटक कथाघेराद्वारा प्रस्तुत गरिने भएको छ । याे महाेत्सवकाे विशेष प्रस्तुति हाे ।

महोत्सवमा पुस्तक प्रदर्शनी, फेस पेन्टिङ लगायत विभिन्न बालकेन्द्रित क्रियाकलापहरुको पनि आयोजना गरिने भएको छ ।

नेपालमा एउटा निजी विद्यालयको सक्रियतामा आयोजना गर्न सुरु भएको रातो बंगला बालसाहित्य महोत्सव सम्भवत: पहिलो बालसाहित्य महोत्सव हो । यस महोत्सवको सुरुवातपछि अन्य विद्यालयहरुले पनि आआफ्नो विद्यालयको प्राङ्गणभित्र बालसाहित्य महोत्सवको आयोजना गर्ने चलन सुरु भएकाे विश्वास गरिन्छ ।

पठन संस्कृतिको प्रवर्धन गर्ने मुख्य लक्ष्यकासाथ आयोजना हुँदै आएकाे यस महोत्सवले बालबालिकालाई पुस्तक पढ्न प्रेरित गर्ने कुरामा आशावादी हुनसकिन्छ । बालसाहित्यकाे विकास र विस्तारका लागि रातो बंगला स्कुल र रातो बंगला किताबले सुरु गरेकाे यस बालसहित्य महाेत्सवमा सहभागी भई बालबालिकालाई सिर्जनात्मकक्षेत्रमा अग्रसर हुन प्रेरितगर्नु आवश्यक देखिन्छ ।

  • केटाकेटी अनलाइनका लागि ईश्वर थोकर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *