बालसाहित्य समाजबाट विभिन्न सर्जकहरु पुरस्कृत

Highlights राष्ट्रिय समाचार

भाइबहिनीहरु, नेपाल बालसाहित्य समाज नेपाली बालसाहित्यकाे विकासका लागि स्थापित सबैभन्दा पुरानाे संस्था हाे । विक्रम सम्वत २०४४ मा स्थापित यस संस्थाले आफ्नो स्थापनाकालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएको छ । साथै यस संस्थामा विभिन्न दाताहरूबाट अक्षय कोशमा रकम जम्मा गरी सोको ब्याजबाट सञ्चालन हुने गरी वि.सं. २०७९ सालमा विभिन्न नयाँ पुरस्कारहरू स्थापित भएका छन् ।
नेपाल बालसाहित्य समाजकाे २०७९ फागुन १९ गते शुक्रबार बसेको बैठकले निम्न बमोजिम पुस्तक एवम् विभिन्न विधाका विशिष्ट सर्जकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको समाचार प्राप्त भएकाे छ । वि.सं. २०७६ र ०७७ सालको ‘नेपाल बालसाहित्य समाज (नेबासास) सर्वोत्कृष्ट बालसाहित्य लेखन तथा चित्राङ्कन’ का लागि गठित पुस्तक मूल्याङ्कन तथा सिफारिस समितिको सिफारिसका आधारमा एवम् सोही समितिका संयोजकको अध्यक्षतामा पुरस्कार संस्थापकहरूको रायअनुसार पुरस्कृत पुस्तक र सर्जकहरु छनाेट गरिएकाे नेबासासले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

जस अनुसार पुरस्कृत कृतिहरूमा वि.सं. २०७६ सालको ८ वर्षभन्दामुनि उमेर समूहको उत्कृष्ट बालसाहित्य लेखनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार’ बालसाहित्य प्रतिष्ठान, नेपालद्वारा प्रकाशित लेखक देवु लुइँटेलद्वारा लिखित ‘मेरो गाउँ’ शीर्षकको पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यसै गरी सोही सालको ८ वर्षदेखि माथिको उमेर समूहका लागि साङ्ग्रिला बुक्सद्वारा प्रकाशित लेखक विनय कसजूद्वारा लिखित ‘बोकाको आत्मकथा’ पुस्तकलाई लेखन तर्फको सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै वि.सं. २०७७ सालको ८ वर्षभन्दा मुनि उमेर समूहको उत्कृष्ट बालसाहित्य लेखनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार’ खोजी प्रकाशन, नेपालद्वारा प्रकाशित लेखक दुर्गाप्रसाद पाण्डेद्वारा लिखित ‘कुम्भको किरो’ शीर्षकको पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यसै गरी सोही सालको ८ वर्षदेखि माथिको उमेर समूहका लागि शब्दार्थ प्रकाशनद्वारा प्रकाशित लेखक विष्णु के.सी. द्वारा लिखित ‘मामाघर पोखरा’ पुस्तकलाई लेखन तर्फको सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी २०७६ सालको उत्कृष्ट बालसाहित्य चित्राङ्कनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य चित्राङ्कन पुरस्कार’ कथालयद्वारा प्रकाशित चित्रकार विनिता बुद्धाचार्यद्वारा चित्राङ्कित ‘मनोहरको मुरली’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ । २०७७ सालको उत्कृष्ट बालसाहित्य चित्राङ्कनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य चित्राङ्कन पुरस्कार’ काठमाडौँ प्रकाशनद्वारा प्रकाशित चित्रकार नीति श्रेष्ठद्वारा चित्राङ्कित ‘छमछमको छमछमी’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसअघि नै वि.सं. २०७५ सालका ८ वर्षभन्दा मुनिका उमेर समूहका लागि लेखनतर्फको सर्वोत्कृष्ट पुरस्कार मेला बुक्सद्वारा प्रकाशित लेखक रविन नेपालीद्वारा लिखित ‘पारुको पुतली’ शीर्षकको पुस्तकलाई तथा सोही सालको ८ वर्षदेखि माथिको उमेर समूहका लागि साङ्ग्रिला बुक्सद्वारा प्रकाशित लेखक आन्विका गिरीद्वारा लिखित ‘आमाले सक्नुहुन्छ’ पुस्तकलाई र वि.सं. २०७५ सालको चित्राङ्कनतर्फको सर्वोत्कृष्ट पुरस्कार बालवाङ्मय तथा अनुशान्धान केन्द्रद्वारा प्रकाशित चित्रकारद्वय श्री अर्पिता शाक्य र पल्पसा मानन्धरद्वारा चित्राङ्कित ‘इम्जाको झस्को’ शीर्षकको पुस्तकलाई प्रदान गर्ने निर्णय गरिसकिएको र कोरोनाका कारण स्थगित उक्त पुरस्कारहरु पनि यसै वर्ष फागुनमा हुने समारोहमा अर्पण गरिने नेबासासले जनाएकाे छ ।
भाइबहिनीहरु, नेबासासले वर्ष वि.सं. २०७६ एवम् २०७७ मा प्रकाशित भएकामध्ये उत्कृष्ट पाँच (टप फाइभ) पुस्तकहरूको सूची पनि सार्वजनिक गरेकाे छ ।

जस अनुसार वि.सं. २०७६ सालको ८ वर्षभन्दा मुनिको उमेर समूहतर्फ उत्कृष्ट पाँच (टप फाइभ) बालपुस्तकहरुकाे सूची (पुस्तककाे नाम, लेखककाे नाम र प्रकाशककाे नाम) यस प्रकार रहेकाे छ :

१. मेरो गाउँ, देवु लुइँटेल, बालसाहित्य प्रतिष्ठान, नेपाल, २. म त हजुरबा विश्व विनोद खोजी प्रकाशन, ३. जुरे, हरिवंश आचार्य, रुम टु रिड ४. रधिया र शिवगज, भवसागर घिमिरे, रुम टु रिड ५. सेल्फीको रहर, रामदेव पाण्डे, कथालय ।
वि.सं. २०७६ सालको ८ वर्षदेखि माथिको उमेर समूहतर्फ उत्कृष्ट पाँच (टप फाइभ) बालपुस्तकहरुकाे सूची (पुस्तककाे नाम, लेखककाे नाम र प्रकाशककाे नाम) यस प्रकार रहेकाे छ : यस प्रकार रहेकाे छ :
१. बोकाको आत्मकथा, विनय कसजू, साङ्ग्रिला बुक्स, २. घमण्डको परिणाम, गणेशप्रसाद भट्टराई, ऐरावती प्रकाशन ३. सविनाको डायरी, विजय चालिसे, बालसंसार ४. मञ्जु र कमिला, रामप्रसाद ज्ञवाली ऐरावती प्रकाशन
५. आगोको बीउ, श्यामकृष्ण खुलिमली, कथालय ।
वि.सं. २०७७ सालको ८ वर्षभन्दा मुनिको उमेर समूहतर्फ उत्कृष्ट पाँच (टप फाइभ) बालपुस्तकहरुकाे सूची (पुस्तककाे नाम, लेखककाे नाम र प्रकाशककाे नाम)यस प्रकार रहेकाे छ : यस प्रकार रहेकाे छ :
१. कुम्भको किरो, दुर्गाप्रसाद पाण्डे, खोजी प्रकाशन, २. पहिलो टिकट रामबाबु सुवेदी रुम टु रिड, ३. किकी, बूँद राना, खोजी प्रकाशन, ४. छमछमको छमछमी, अनुराधा, काठमाडौँ पब्लिकेसन, ५. मैँचा र फगुनी, कृष्णराज सर्वहारी, रुम टु रिड ।
वि.सं. २०७७ सालको ८ वर्षदेखि माथिको उमेर समूहतर्फ उत्कृष्ट पाँच (टप फाइभ) बालपुस्तकहरुकाे सूची (पुस्तककाे नाम, लेखककाे नाम र प्रकाशककाे नाम) यस प्रकार रहेकाे छ :
१. मामाघर पोखरा, डा. विष्णु के.सी, शब्दार्थ प्रकाशन २. बास्ना आउने बाँसुरी, रोशन पोखरेल, साङ्ग्रिला बुक्स
३. सम्पदा दर्शन, सुशीला देउजा, बालसाहित्य प्रतिष्ठान, नेपाल ४. जूनकिरी, बाजुराम पौडेल, सुरभी साहित्य प्रतिष्ठान
५. सेकुवा, कृष्णदीप सिग्देल, साङ्ग्रिला बुक्स ।
यसैगरी नेपाल बालसाहित्य समाजद्वारा वि.सं. २०७९ सालमा स्थापित नेबासास तेजप्रतिभा बालनियात्रा-लोकवार्ता पुरस्कार पहिलो बालनियात्राकार भूपहरि पौडेललाई, नेबासास ध्रुवसुशीला बालसाहित्य अनुसन्धान पुरस्कार बालसाहित्यका पहिलो उत्कृष्ट अनुसन्धाता प्रा.डा. चूडामणि बन्धुलाई र नेबासास चूडाचरण बालजीवनी पुरस्कार दुई दर्जनभन्दा बढी बालोपयोगी जीवनी लेखक गोपाल पराजुलीलाई प्रदान गर्ने निर्णय गरिने भएको समाचार हामीलाई प्राप्त भएकाे छ ।
महामारीका रूपमा फैलिएको कोरोनाका कारण वि.सं. २०७६ एवम् २०७७ सालमा राष्ट्रिय सम्मेलन आयोजना हुन नसकेकाले उक्त वर्षका पुरस्कारहरू चितवन जिल्लाको झुवानीमा यही २०७९ साल फागुन २४ र २५ हुने सत्ताइसौँ राष्ट्रिय बालसाहित्य सम्मेलन, उद्घाटन सत्रको भव्य समारोहका बिच समर्पण गरिने नेबासासले जनाएकाे छ । सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फको पुरस्कारहरुको राशि रु. दश हजार र २०७९ सालमा स्थापित नेबासास अन्य पुरस्कारहरूको राशि रु. पन्ध्र हजार रहेको जनाइएकाे छ ।

पुरस्कृत लेखक, चित्रकार र प्रकाशक एवम् वर्षभरि प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट ५ मा पर्न सफल लेखक र प्रकाशकहरु सबैलाई केटाकेटी अनलाइनको तर्फबाट हार्दिक बधाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *