कुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए । केही समयदेखि आकाशको स्वभाव बदलिन थालेको थियो । ऊ त्यही सुन्दरी परीको मायाजालमा फसेको थियो । यो कुरा धर्तीलाई थाह थिएन ।
धर्ती गर्भवती भएकी थिई । यो कुरा आकाशलाई थाह थियो । तर ऊ थाह नपाझैँ धर्तीबाट टाढा हुन खोज्दै थियो । आकाश आफूबाट टाढा हुन लागेको कुरा चाल पाएपछि धर्ती ज्यादै दुखी भई । आफू दुई जिउकी भएको वेला आकाशले धोका देला भनेर उसले सपनामा पनि सोचेकी थिइन ।
उता आकाश भने परीसँग घरजम गर्ने सुर कस्दै थियो । एक दिन जङ्गलमा ठुलो पानी पर्यो । यसै वेला धर्तीलाई सुत्केरी हुने व्यथाले च्याप्यो । ऊ पीडाले रुन कराउन थाली । धर्तीको आवाज सुनेर वरिपरिका दुई तीन ओटा भँगेरी जम्मा भए । धर्तीको जिउ हलुङ्गो भयो । उसले एक छोरा एक छोरी जन्माई । छोराछोरी जन्मिएकामा परी खुसी थिई तर कसरी पालनपोषण गर्ने होला भनेर ऊ दु:खी पनि भएकी थिई ।
समय बित्दै जाँदा आकाशविना धर्तीलाई त्यो ठाउँ बिरानु लाग्न थाल्यो । उसले ठाउँ छाडेर जाने निर्णय गरी । ऊ छोराछोरी साथमा लिएर हिँडी । उता आकाश भने परीसँग विवाह गरेर मोजमस्तीका साथ बसेको थियो । तर आकाश परीको सम्बन्ध धेरै दिगो भएन । सानो सानो कुरामा पनि उनीहरू झगडा गर्न थाले । अति नै भएपछि परीले आकाशलाई छाडिदिई । उसले अर्कै भँगेरासँग बिहे गरी ।
अब आकाश एक्लै भयो । ऊ छटपटिन थाल्यो । उसलाई पछुतो लाग्यो । ऊ धर्तीसँग माफ माग्ने सुरले धर्ती बस्ने ठाउँ सोध्दै जङ्गल चाहार्न थाल्यो । उसले घरमा धर्तीलाई कतै देखेन । छिमेकीसँग सोध्दा धर्तीले गाउँ छाडेर गएको जवाफ पायो । आकाश विरहले जल्न थाल्यो । उसले सबैतिर आफ्नी प्रेमी र छोराछोरीलाई खोज्यो । उनीहरूलाई नभेटेपछि निराश भएर फर्किन्थ्यो । ‘म माफी पाउन लायक पापी पनि भइनँ’ भनेर आफैँलाई धिक्कार्दै हिँड्थ्यो ।
धर्ती निकै टाढा गएकी थिई । उसका छोराछोरी ठुला भएका थिइ । एक दिन छोरीले भनी, ‘आमा, हामीलाई बाबा खोजेर ल्याइदिनु न ।’ छोराले भन्यो, ‘आमा, हामीलाई जसरी पनि बाबा चाहिन्छ ।’
छोराछोरीले बाबा खोजेपछि धर्तीले एक दिन एउटा भाले लिएर आई । छोराछोरी बाबालाई देखेपछि ज्यादै खुसी भए । अर्को दिन आकाश उनीहरूलाई खोज्दै त्यहीं आइपुग्यो । धर्तीले अर्कैसँग घरजम गरेको थाह पाएर ऊ ज्यादै दुखित भयो । आफ्ना छोराछोरी बढेर ठुला भएको देख्यो । आकाश त्यता देखा नपरी टाढैबाट आफ्नाे परिवारलाई अगाैँजी हेरेर रुँदै रुँदै फर्कियो ।