यौन हिंसा यौन हिंसा नै हो

Featured Highlights सम्पादकीय

केही समयअघि तिब्बती धर्मगुरु दलाई लामाले प्रवचन कार्यक्रममा एकजना बालकको जिब्रो चाटे, बालकलाई चुम्बन गरे । गुरुको बानी नै त्यस्तै हो भनेर यस विषयमा केही स्वरहरु पनि सुनिए । तर उनीबाट गलत काम भयो भनेर सबैले आलोचना गरेपछि उनी माफी माग्न बाध्य भए । अहिले एकजना कृषिविज्ञ मदन राईले आफ्नो आश्रममा आश्रित बालिकालाई दुर्व्यवहार गरेको घटना बाहिर आएको छ । उनका समर्थकहरु राईको बानी नै यस्तै हो । यो उनले यौन शिक्षा दिनेक्रममा गरेका हुन् भनेर भनिरहेका छन् ।

यस्तै प्रवृतिका फरक फरक घटनामा यौन दुर्व्यवहारको दोष नायक पल शाह र क्रिकेटर सन्दिप लामिछानेलाईं पनि लागिसकेको छ । पल र सन्दिपले त बलात्कार आरोपीको रुपमा जेल सजाय पनि भाेगिसकेका छन् । सन्दिप अहिले पनि धरौटीमा रिहा भएर क्रिकेट खेल्दैछन् भने पल जेल सजाय पूरा गरेर छुटेका छन् ।

वास्तवमा अहिले हाम्रो समाज यौन दुर्व्यवहारको विषयमा दुई हिस्सामा विभाजित देखिन्छ । कोही केटीलाई गाली गरिरहेका देखिन्छन् भने कोही केटालाई दोष दिइरहेका भेटिन्छन् । तर, यस विषयमा हामीले के स्पष्ट हुनुपर्छ भने यौनहिंसा यौन हिंसा नै हो । त्यो लोकप्रिय व्यक्तिहरुले गरुन् वा अन्य साधारण मान्छेले ।

नाबालिक उमेरमा रहेका बालक वा बालिकालाई यौनजन्य उद्देश्यले कसैले दुर्व्यवहार गर्छ भने त्यो यौनहिंसा हो । नाबालिकलाई प्रलोभनमा पारेर यौनसम्पर्क कायम गर्ने व्यक्ति लोकप्रिय अभिनेता, नेता, समाजसेवी, विज्ञ जोसुकै होस् ऊ कानूनको नजरमा अपराधी नै हो । उसले कडाभन्दा कडा सजाय पाउनुपर्छ । यस विषयमा समाजका सबै वर्गमा एउटै धारणा हुनु आवश्यक छ । जबसम्म हामीले यौनहिंसाका विषयमा प्रस्ट धारणा बनाउन सक्दैनौँ तबसम्म समाजमा दोषीले सजाय पाउने अवस्था फितलो रहन्छ । तसर्थ सभ्य समाजको निर्माणका लागि हामीले यौनहिंसामा जोसुकै संलग्न भएको पाइए पनि उसलाई अपराधीको रुपमा हेरी सजायको माग गर्नुपर्छ । यस्तो गर्न सकियो भने मात्र एउटा सभ्य समाज निर्माण गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *