आदरणीय कवि श्यामप्रसादको चर्चित बालकविता ‘राम्रो–नराम्रो’

Featured Highlights कविता साहित्य

क ख ग घ ए बी सी डी लेख्ने बानी राम्रो
रिसाउने, कराउने, रुने बानी नराम्रो ।
खाजा खाने बानी राम्रो, भोकै बस्ने नराम्रो ।
कोची कोची खाने बानीचाहिँ नराम्रो ।१।

इस्कुल जाने बानी राम्रो, ‘जान्नँ’ भन्ने नराम्रो
खेल्ने बानी पनि राम्रो, धेरै खेल्ने नराम्रो
काम गर्ने बानी राम्रो, अल्छी हुनु नराम्रो
सफा सुग्घर गरे राम्रो फोहर गरे नराम्रो ।२।

चाँडै सुत्ने चाँडै उठ्ने बानी धेरै राम्रो
अबेर सुत्ने अबेर उठ्ने, आनीबानी नराम्रो ।
नुहाउनु सफा हुनु, दाँत माज्नु राम्रो
जता पायो उतैतिर पिच्च थुक्नु नराम्रो ।३।

पुस्तक पढ्नु सारै राम्रो, च्यात्नुचाहिँ नराम्रो
सफा अक्षर लेख्नु राम्रो, कापी केर्नु नराम्रो ।
जुत्ता लुगा सफा गर्ने बानी धेरै राम्रो
जथाभावी फालिदिने बानीचाहिँ नराम्रो ।४।

राम्रोसँग कुरा गर्ने बानी खुबै राम्रो
अरुलाई जिस्क्याउने बानीचाहिँ नराम्रो
बाँडीचुँडी खाऊँ भन्ने बानी सारै राम्रो
आफूमात्रै खान खोज्ने बानीचाहिँ नराम्रो ।५।

(लेखक : श्यामप्रसाद, छन्द : सवाई )

Leave a Reply

Your email address will not be published. Required fields are marked *