काठमाडाैँ, ५ साउन २०८०
नवसर्जक साहित्य चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् प्रतिभाशाली बालकवि विभूति अधिकारीको ‘अर्जुनदृष्टि’ नामक कविता सङ्ग्रह एक विशेष समारोहका बिच विमोचन भएको छ । याे बालकवि अधिकारीको दाेस्राे कृति हाे ।
नेपाली छन्द कविताको प्रवर्धनकाे अभियानमा लागिरहेको संस्था छन्द तरङ्गद्वारा आयोजित कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपाल, ऐरावती प्रकाशन र एम्बिसन एकेडेमीकाे सहकार्यमा पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँको सभाहलमा सम्पन्न भएको थियाे ।
छन्द तरङ्गका संयोजक प्रा.डा. रामप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोजित समारोहमा अग्रज भाषाविद् प्रा.डा. चूडामणि बन्धुको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अग्रज साहित्यकारहरु जगत् उपाध्याय ‘प्रेक्षित’, हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल, प्रभा भट्टराई, सिक्किमका कवि प्रा. तेजमान बराइलीलगायतको विशिष्ट आतिथ्य रहेको थियो । साथै कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकार एवम् पुरस्कार संस्थापक विष्णु न्यौपाने, कृतिकारका पिता रामप्रसाद अधिकारी, माता गायत्री भट्टराई, एम्बिसन एकेडेमीका प्रिन्सिपल देवी घिमिरेलगायत ३०० भन्दा बढी साहित्यकार र साहित्यानुरागीहरुको आतिथ्य एवम् उपस्थिति रहेको थियो ।
कोभिड कहरका समयमा हेटौँडाबाट दीपक गौतमले २०७७ जेठदेखि सञ्चालन गर्नुभएको ‘नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान’ बाट छन्दमा कलम चलाउन थाल्नुभएका धनगढी, कैलालीका विभूति अधिकारीले २०७७ चैत २ गते ‘अद्भुत इन्द्रेनी’ नामक खण्डकाव्यमार्फत् नेपाली साहित्यमार्फत् आफ्नो सशक्त उपस्थिति जनाइसक्नुभएकाे थियाे । यस समाराेहमा विमोचित ‘अर्जुनदृष्टि’ कवितासङ्ग्रहमा शास्त्रीय छन्दमा रचित विविध भावका ४९ वटा कविताहरू सङ्कलित छन् ।
कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ता तथा अतिथिज्यूहरूले विभूतिमा काव्यप्रतिभा प्रचुर रहेको र उनीद्वारा रचित दुवै कृतिमा समावेश कविताहरु छन्द, भाव, विचार, बिम्ब, प्रतीक तथा अलङ्कार प्रयोगका हिसाबले उच्च कोटीको रहेको छ भन्रुभयाे । बालकवि विभूतिकाे नयाँ कृति ‘अर्जुनदृष्टि’ मा समाविष्ट ४९ कविता स्तरीय रहेको विचार अग्रज लेखकहरुले अभिव्यक्त गर्नुभएकाे थियाे ।
प्रतिभाशाली बालकवि विभूति अधिकारीको १७ ओैँ जन्मोत्सवका अवसरमा आयोजित विमोचन कार्यक्रममा उपस्थित सबै साहित्यकार र साहित्यानुरागीलाई विमाेचित कृति उपहार प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेले गर्नुभएकाे थियाे ।