ललितपुर, साउन १८ गते बिहीबार
ललितपुर- २३ धापाखेलमा अवस्थित विगत १३ वर्षदेखि स्तरीय शिक्षा प्रदान गर्दै आएको रिजेन्ट रेसिडेन्सियल स्कुल र केटाकेटी मिडिया (केटाकेटी अनलाइन बालपत्रिका) बिच बालबालिकाको सिर्जनात्मक लेखन क्षमताकाे विकासका लागि सहकार्य गर्ने सहमति भएको छ ।
आज रिजेन्ट रेसिडेन्सियल स्कुल, धापाखेल, ललितपुरमा भएको सहमति पत्रमा रिजेन्ट स्कुलका प्रधानाध्यापक नवराज सञ्जेल र केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।
सहमति अनुसार केटाकेटी मिडियाले रिजेन्ट स्कुलमा अध्ययनरत बालबालिकाहरुको सिर्जनात्मक व्यक्तित्व विकासका लागि त्यस विद्यालयमा स्थापित ‘चन्द्रमा सिर्जना क्लब’ सँग सहकार्य गरी विविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ ।
बालबालिकाहरुको लेखन तथा वाचन क्षमताको विकास गर्न हौसला प्रदान गर्दै केटाकेटी अनलाइन बालपत्रिकाले मञ्च प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
बालबालिकाद्वारा रचना गरिएका सामग्रीहरुलाई केटाकेटी अनलाइन बालपत्रिका लगायत अन्य बालसञ्चार माध्यमहरुमा प्रेषित गरी बालबालिकालाई सिर्जनात्मक लेखनका लागि हौसला प्रदान गर्नु यस सम्झौताको प्रमुख लक्ष्य रहेको रिजेन्ट स्कुलका प्रधानाध्यापक नवराज सञ्जेलले बताउनुभएको छ ।
विद्यालयमा अध्ययनरत हरेक बालबालिकाकालाई सिर्जनात्मक मञ्च प्रदान गर्न रिजेन्ट स्कुलले कक्षागत बालसिर्जनाहरु समेटिएका बालसामग्रीहरुको उत्पादन त्रैमासिक रुपमा गर्ने, मासिक भित्ते पत्रिका प्रकाशन र ‘चन्द्रमा’ नामक वार्षिक बालसिर्जना पत्रिकाको प्रकाशन गर्ने लगायत विविध क्रियाकलापहरु यस सहमतिमा समेटिएका छन् ।
एक वर्षका लागि गरिएकाे यस सहमति अनुसार विद्यालले केटाकेटी मिडिया र बालसाहित्य प्रतिष्ठान नेपालकाे लाेकप्रिय कार्यक्रम ‘विद्यालयका बालबालिकासँग लेखक Meet the Author with School Children’ र मिडिया र प्रतिष्ठानद्वारा प्रकाशित स्तरीय बालपुस्तकहरुलाई बालबालिकाहरु माझमा पठन सामग्रीकाे रुपमा छनाेट गरी सहकार्य गरिने भएकाे छ ।
सम्झाैता पत्रमा हस्ताक्षरपछि प्रधानाध्यापक नवराज सञ्जेल (फाेटाेमा दायाँ) र सम्पादक कार्तिकेय ।