लाै आयो नयाँ बालपत्रिका ‘लालपाते’

Featured Highlights बजारमा नयाँ बालपुस्तक राष्ट्रिय विद्यालय समाचार समाचार

भाइबहिनीहरु, नयाँ बालपत्रिका आएको छ । यो बालपत्रिकाको नाम ‘लालपाते’ हो । यस पत्रिकाका प्रधान सम्पादक विमलकृष्ण श्रेष्ठ (आदरणीय कवि विमल निभा) भन्नुहुन्छ, “लालपातेलाई लालुपाते पनि भनिन्छ । यसको नामले नै थाहा हुन्छ, यसमा लाल रङको पात हुन्छ । लाल रङ कसलाई मन पर्दैन ? असलमा ‘लालपाते’ सबैलाई प्यारो लाग्ने लाल रङको फूल हो । त्यसैले हामीले लालपाते अघि ल्याएका हौँ । बालपत्रिका ‘लालपाते’ । ”
छ छ महिनामा निस्कने यस बालपत्रिकाको प्रकाशक नेपाल प्रज्ञा–प्रतिष्ठान हो । प्रधान सम्पादक विमलकृष्ण श्रेष्ठ नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ । उहाँ नै प्रमुख रहनुभएको बालसाहित्य विभागबाट यस पत्रिका तयार गरिएको हो । यस पत्रिकाका कार्यकारी सम्पादक सीताराम उप्रेती र कला सम्पादक विनोद प्रधान रहनुभएको छ ।
लालपातेको पहिलो अंकमा पहिलो पेजमा ९० वर्ष पुग्नुभएका ‘बालसाहित्य रत्न शान्तदास’ लाई जन्मदिनको बधाई दिइएको छ । त्यसपछि रचनाक्रममा युद्धप्रसाद मिश्रको कविता ‘स्कुल जाऔँ’, सङ्गीतले तयार गर्नुभएको ‘कार्ल माक्सकाे जीवनी’ चिनारी, प्रज्ञा सुवेदीको कथा ‘ड्याडी’, मित्रलाल पंज्ञानीको कविता ‘आमाबासित’, स्कुल स्तम्भमा पुरुषोत्तम सुवेदीको संस्मरण ‘डढेकाे कलम’, नारायण तिवारीको संस्मरण ‘ज्ञानतडक्का’, अविनाश श्रेष्ठको गीत, थाहा स्तम्भमा सृजना ढकालको जानकारीमूलक लेख ‘गणतन्त्र दिवसको छुट्टी’, नारायण ढकालको कलिलो उमेरको सम्झना ‘अनाम गुरु’, ऋचा शर्माले अनुवाद गर्नुभएको चिनियाँ लोककथा ‘बोल्ने चरो’, रेशम विरहीको लबज ‘करेसाबारीमा आमा’, सीताराम उप्रेतीको स्वास्थ्य स्तम्भमा ‘तरकारी र फलफूलमा विषादी’ शीर्षक लेख, शार्दूल भट्टराईको ‘बेलुन–पानी’ शीर्षकको बालनाटक र अन्त्यमा कवि बिन्दु शर्माले चिनियाँ बालकथाको किताब समातेर बालबालिकालाई कथा सुनाइरहनुभएको ठुलो फोटो ‘सामाजिक सञ्जाल ‘फेसबुक’ बाट भन्ने स्तम्भमा छापिएको छ ।
भाइबहिनीहरु, ‘लालपाते’ तपाईंहरुलाई मन पर्ने रंगीन साजसज्जासहित स्तरीय छपाइमा प्रकाशित भएकाे छ । यस पत्रिकामा प्रकाशित सामग्रीहरु रमाइला र सन्देशमूलक छन् । सामग्री तयार गर्दा प्रधान सम्पादक, सम्पादक र चित्र सम्पादकहरुले मिहिनेत साथ काम गर्नुभएको छ । पचास रुपियाँ मूल्य रहेको छतीस पेजको यो रंगीन बालपत्रिका पढेर तपाईंहरुको समय मजाले सदुपयोग हुनेछ ।

यो पत्रिका कमलादी, काठमाडौँमा रहेको नेपाल प्रज्ञा–प्रतिष्ठानमा किन्न पाइन्छ । यो पत्रिकामा रचना पठाउने ठेगाना lalpatepatrika@gmail.com हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *