काठमाडौँ, भाद्र ४
आज स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुल, सानो भर्याङ, काठमाडौँको प्राङ्गणमा ‘केटाकेटी अनलाइन वर्षका उत्कृष्ट कान्छा चित्रकार पुरस्कार २०२१’ कलाकार आश्रिति श्रेष्ठलाई र ‘केटाकेटी अनलाइन वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार २०२१’ सर्जक सुशीला देउजालाई प्रदान गरिएको छ ।
स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलका निर्देशक मीना महर्जनको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा आश्रिति श्रेष्ठलाई नगद रु पन्ध्र हजार र सम्मान पत्र सहित पुरस्कृत गरिएको छ । चित्रकार श्रेष्ठले नौ वर्षको उमेरमा चित्रकला तयार गरी बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित ‘करण र कार्टुन’ नामक बालचित्रकथा कृतिका लागि उहाँलाई पुरस्कृत गरिएको केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयले बताउनुभएको छ । ‘करण र कार्टुन’ कृति बालसाहित्य प्रतिष्ठान नेपालको ‘फर चिल्ड्रेन बाइ चिल्ड्रेन’ (बालबालिकाद्वारा बालबालिकाका लागि) परियोजना अन्तर्गत प्रकाशित भएको थियो ।
यसैगरी केटाकेटी अनलाइन बालपत्रिकामा सन् २०२१ मा सबैभन्दा बढी हेरिएको र सुनिएको बालसाहित्यको अडियो कथाको किताब ‘पानी बेच्ने केटी’ कथाका सर्जक सुशीला देउजालाई ‘केटाकेटी अनलाइन वर्षका उत्कृष्ट लेखक’ पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । उहाँलाई पनि नगद रु पन्ध्र हजार र ताम्रपत्रसहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा बोल्दै चर्चित चित्रकार अविन श्रेष्ठले बालबालिकालाई उनीहरुको रुचिको क्षेत्रमा सिर्जनात्मक काम गर्न सधैँ हौसला दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
स्कुलका निर्देशक मीना महर्जनले प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालयले बालबालिकाको सिर्जनात्मक क्षमताको विकासका लागि विशेष योजनाका साथ काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा गुरुकुल स्कुलका प्रिन्सिपल नेहा केसी, चर्चित कलाकार संगी श्रेष्ठ र बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले पुरस्कृत लेखक र बालप्रतिभाहरुलाई बधाई दिनुभएको थियो ।
बालसाहित्य प्रतिष्ठान नेपालले सन् २०२३ को ‘फर चिल्ड्रेन बाइ चिल्ड्रेन’ (बालबालिकाद्वारा बालबालिकाका लागि) परियोजनाका लागि सर्जक बालप्रतिभा छनोटका निम्ति सबैलाई बालप्रतिभा छनोट गर्ने काममा सघाउन कृति प्रकाशन गरेका र गर्न इच्छुक बालबालिकाबारे सूचना दिनुहुन सबै विद्यालय र अभिभावकहरुसँग अपिल गरेको छ ।