ललितपुर, भाद्र ११ गते सोमबार
अमेरिकी लेखक जुली र ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलद्धारा प्रकाशित बालसिर्जना पत्रिका ‘चन्द्रमा’ को विमोचन गर्नुभयो । रिजेन्ट स्कुलमा अध्ययनरत बालबालिकाको रचना समेटिएको ‘चन्द्रमा’ पत्रिकाकाे यस अङ्कमा बालबालिकाद्वारा रचना गरिएका कथाहरू समावेश गरिएका छन् ।
यो ‘चन्द्रमा’ पत्रिकाका पहिलो अङ्क हो । यस अङ्कमा अङ्ग्रेजी खण्डमा ३० जना र नेपाली खण्डमा २३ जना गरी ५३ बालबालिकाका ५३ कथाहरू समेटिएका छन् । पत्रिकामा २ देखि ९ कक्षासम्म अध्ययनरत बालबालिकाका रचनाहरु समावेश छन् ।
यस पत्रिकामा कथाकार बालबालिकाले आ-आफ्नो कथाका लागि आफैँ चित्र तयार गर्नुभएको छ । फर चिल्ड्रेन बाइ चिल्ड्रेन कार्यक्रम अर्थात् बालबालिकाद्वारा बालबालिकाका लागि कार्यक्रमले बालबालिकाको सिर्जनात्मक विकासका लागि टेवा पुग्ने विश्वास गरिएको छ ।
विद्यालयका प्रिन्सिपल नवराज सञ्जेल संरक्षक र प्रमुख सल्लाहकार रहनुभएको यस पत्रिकाको सल्लाहकार मण्डलमा विद्यालयका भाइस प्रिन्सिपल डा. विद्या पोखरेल र बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरे रहनुभएको छ ।
पत्रिकाको अङ्ग्रेजी खण्डको सम्पादक मण्डलमा रामजी आचार्य, रमिता महर्जन, टिछिरिङ लामा, अस्मिता खड्का, चारू न्यौपाने, सङ्गीता अग्रहरी र सरिता अर्याल रहनुभएको छ । नेपाली खण्डको सम्पादक मण्डलमा जुनु कार्की, रञ्जना घिमिरे, शान्ता चापागाई, सुस्मी केसी, सिरिसा केसी र रूपा रिजाल रहनुभएको छ ।
विमोचन कार्यक्रममा विद्यालयका प्रिन्सिपल नवराज सञ्जेलले ‘चन्द्रमा’ पत्रिका हरेक वर्ष प्रकाशित हुने जानकारी गराउँदै यस पत्रिकाले रिजेन्ट स्कुलका बालबालिकाको सिर्जनात्मक लेखन क्षमताको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रंगीन साजसज्जा र चिल्लो कागजमा प्रकाशित १ सय २० पृष्ठको यस वार्षिक बालसिर्जना पत्रिका ‘चन्द्रमा’ को मूल्य रू. २५०/– रहेको छ ।