कलिङ महोत्सवमा बालसाहित्य पुरस्कारमा छलिङ

Featured Highlights मैले पढेको किताब राष्ट्रिय समाचार

काठमाडौँ, भाद्र १५ गते
यस वर्ष कलिङ महोत्सवमा बालसाहित्य विधातर्फ प्रदान गरिएको नेपाल यशश्वी बुक अवार्डमा छलिङ (छलछाम, धाँधली) भएको सूचना प्राप्त भएको छ । बालसाहित्यको विश्वस्त स्रोतबाट यशस्वी प्रज्ञा प्रतिष्ठानबाट पुस्तक बुझाउन आव्हान गरेको सूचनासहित यस पटकको बालसाहित्य विधामा पुरस्कार वितरणमा धाँधली भएको भन्ने समाचार स्रोतको दाबी अनुसार केटाकेटी अनलाइनले यस विषयमा अनुसन्धान गर्यो ।

केटाकेटी अनलाइनले गरेको अध्ययनमा त्यस प्रतिष्ठानबाट जारी सूचना, प्रतिष्ठानका अध्यक्ष एवम् महोत्सवका संयोजक रन्जना निरौंलाले विभिन्न मिडियालाई दिनुभएको अन्तर्वार्ताहरुको अध्ययन गरेपछि संयोजकले हरेक अन्तर्वार्तामा ‘वर्षभरि प्रकाशित कृतिहरुलाई सम्बन्धित विधाका विशेषज्ञ निर्णयकहरुले अध्ययन गरी उत्कृष्टलाई छनोट गरी पुरस्कृत गरिनेछ’ भन्ने कुरा व्यक्त भएको देखिन्छ । तर, बालसाहित्यतर्फ पुरस्कृत कृतिको प्रकाशन मिति हेर्दा ३ वर्षअगाडि अर्थात् वि.सं. २०७७ मा प्रकाशित भएको देखिन्छ । यस आधारमा हेर्दा यस वर्ष कलिङ महोत्सवमा बालसाहित्य विधातर्फ प्रदान गरिएको ‘नेपाल यशश्वी बुक अवार्ड’ मा छलिङ (छलछाम, धाँधली) भएको सूचनालाई पुष्टि गर्दछ ।
नेपाली बालसाहित्यको हरेक वर्ष अध्ययन गरी रहनुभएका विशेषज्ञलाई हामीले तपाईंको विचारमा के भएको होला ? भनेर जिज्ञासा राखेका थियौँ । उहाँले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, ”यस सूचना अनुसार हेर्दा त धाँधली नि भएको देखिन्छ किनकि यसमा बालसाहित्य पुस्तकको लागि फरक प्रक्रिया उल्लेख गरिएको देखिँदैन । यदि यो तीन वर्षकै लागि हो भने पनि यो बितेको तीन वर्ष नेपाली बालसाहित्यमा एक से एक राम्रा कृतिहरु प्रकाशित भएका छन् । तीमध्येबाट कृति छनोट गरिएको भए यति छोटो समयमा ती सबै कृतिको अध्ययन सम्भव भयो होला जस्तो मलाई लाग्दैन ।
अर्कोतिर बालसाहित्य कृतिलाई नै प्राथमिकता दिई कृति प्रकाशन गरिरहेका एकजना प्रकाशक भन्नुहुन्छ, ”हामीले यसै वर्षभित्र प्रकाशित कृति बुझाएका हौँ । सूचनामा एउटा र मूल्याकंनमा अर्को नतिजा देखिएकाले यस पुरस्कार निष्पक्ष भयो भन्न सकिने अवस्था रहेन ।”
‘नेपाल यशस्वी बुक अवार्ड’ मा बालसाहित्य विधालाई नि समेटेको देखेर खुसी भएको बालसाहित्य वाङ्मय यशस्वी प्रज्ञा प्रतिष्ठानको यस किसिमको अलमले निर्णयबाट निराश भएको छ ।
यस वर्ष नेपाल यशस्वी बुक अवार्ड प्राप्त बालसाहित्य विधाको कृति ‘छमछमको छमछमी’ हो । यसका लेखक अनुराधा हुनुहुन्छ । यस कृतिलाई वि.सं. २०७७ मा काठमाडौँ पब्लिकेशनले प्रकाशित गरेको हो ।
यस विषयमा थप जानकारी लिन यशस्वी प्रज्ञा प्रतिष्ठानको अध्यक्षसँग सम्पर्क गर्ने काेसिस गरेका थियाैँ तर सम्पर्क हुन सकेन ।#KalingaLiteraryFestival

Leave a Reply

Your email address will not be published. Required fields are marked *