बालसाहित्य लेखक सरस्वती श्रेष्ठ ‘सरु’ र बालप्रतिभा आर्या त्रिपाठीको कुराकानी

Featured Highlights अन्तर्वार्ता विचार

आर्या त्रिपाठी, कक्षा ८, ज्ञान सागर एकेडेमी, हेम्जा, पोखरा, कास्की ।
पोखराको साहित्यिक गतिविधिमा सक्रिय रूपमा सहभागिता जनाउनु हुने सरस्वती श्रेष्ठ ‘सरु’ नेपाली साहित्य जगत्को कुनै नौलो नाम होइन । नेपाली साहित्यका कविता, कथा, लघुकथा, गीत, गजल, मुक्तक आदि विधामा उहाँको कलम प्रखर रूपमा दौडेको छ । लामो कपाल, चिटिक्क परेको सानो कद, मायालु स्वभाव भएकी उहाँलाई प्राय म कार्यक्रमहरूमा भेटिरहन्छु । बालसाहित्यमा उहाँले चाल्नुभएको कदम अझ मेरो लागि खुसीको विषय बनेको छ ।

घर, परिवार, जागिर आदि सम्हालेर यसरी एउटा नारी पात्र साहित्यिक परिवेशमा उर्जाशील देख्दा उहाँसँग भलाकुसारी गर्ने इच्छा पहिलेदेखि नै जागेको थियो । आज मेरो इच्छा पूरा भयो । उहाँसंगको भेटघाट, यो विशेष रह्यो । चिनजान र बोलचाल भइरहेको हुँदा उहाँसँग कुराकानी गर्दा असाध्यै रमाइलो र रोमाञ्चक बन्यो । यो सुन्दर वातावरण मिलाइदिनु हुने केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरेज्यू र आफ्नो व्यस्तताका बाबजुद पनि समय प्रदान गर्नुहुने साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

नमस्कार ! सन्चै हुनुहुन्छ ?
→ नमस्कार आार्या ! सन्चै छु ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
→ लामो समयदेखि म शिक्षण पेसामा आवद्ध छु । घर, स्कुल, लेखन, समय मिलाएर साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने, यिनै दैनन्दिय क्रियाकलापमा व्यस्त छु । वास्तवमै भन्नुपर्दा बाल कविता सङ्ग्रहको प्रकाशनको तयारीमा पनि लागेकी छु ।
कहिलेदेखि साहित्य सिर्जना गर्न थाल्नुभयो ? बाल साहित्य तर्फ कसरी आकर्षण बढ्यो ?
→ वि स. २०४४ सालदेखि साहित्य लेखनमा पाइला चाल्न सुरु गरेकी हुँ । मेरो जन्म , लमजुङ जिल्लामा भएको हो । म रहेको ठाउँ सदरमुकामबाट धेरै टाढा छ । त्यो समयमा मलाई कसैको सहयोग थिएन । न त्यहाँ कुनै कार्यक्रम नै हुने गर्दथ्यो । आहेलेजस्तो साहित्यिक संघ संस्था थिएनन् । पत्रपत्रिका कमै हात पर्थ्यो । त्यत्तिबेला रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम भने खुब सुनिन्थ्यो । बाल संसारमा बज्ने बाल गीत अत्यन्त रूचिपूर्वक सुन्ने गरिन्थ्यो । पाठ्यपुस्तकमा भएका कविताहरू पढिन्थ्यो । बालसाहित्य लेखनमा लागेको चाहीँ धेरै समय भएको छैन । २०५३ मा पोखराबाट प्रकाशित हुने नव माध्यममा पहिलो बालगीत प्रकाशित भएको थियो । जब म शिक्षण पेशामा आवद्ध भएँ तबदेखि अझ बढी त्यसतर्फ लाग्ने वातावरण बन्यो । बालसाहित्य सिर्जना गर्दा अत्यन्त आनन्द लाग्छ ।
बालसाहित्यले बालबालिकामा कस्तो प्रभाव पारेको पाउनु हुन्छ ?
→ बालसाहित्यले बालबालिकामा अत्यन्त सकारात्मक प्रभाव पारेको हुन्छ । बालबालिकाको पठन संस्कृतिमा वृद्धि गराउन, अभिरूचि जगाउन, बालबालिकाहरुमा शब्द ज्ञान बढाउन, रचनात्मक, सिर्जनात्मक क्षमता अभिवृद्धि गराउन, बाल साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आजका बालबालिकालाई दूध पिलाउन, खाना खुवाउनसमेत गीत सुनाउनु पर्ने भएको छ । साहित्यले बालबालिकालाई अनुशासित पनि बनाउँछ । विद्यालयमा पनि उनीहरुलाई मनोरञ्जनात्मक रूपमा शिक्षा दिन सकियो भने अत्यन्त प्रभावकारी हुनेछ । अतः बालबालिकाका लागि साहित्य अपरिहार्य छ । नानु पनि त स्वयम् बाल साहित्यकार हुनुहुन्छ । यस विषयमा तपाईलाई पनि राम्ररी ज्ञान छ होइन र ? साहित्य पढ्दा छुट्टै आनन्द आउँछ हगि ?
विभिन्न पब्लिकेशनका पाठ्यपुस्तकमा आफ्ना रचना प्रकाशित हुँदा कस्तो अनुभव गर्नुहुन्छ ?
→ म मेरा रचनाहरू सर्वप्रथम रेडियो नेपालका विभिन्न कार्यक्रमबाट प्रसार भएको सुन्दा आनन्दित र हर्षित बन्थँें । त्यसपछि बिस्तारै विभिन्न पत्र पत्रिकामा प्रकाशित हुँदा अझ बढी खुसी र हौसला मिल््दथ्यो । अहिले विभिन्न पाठ्यपुस्तकमा आफ्ना रचना प्रकाशित हुँदा खुसी नै लाग्छ । मेरा रचना पंढेर बालबालिकालाई कस्तो लाग्दो हो ? प्रतिक्रिया पाउन पाए….. जस्तो लाग्छ ।
हालसम्म कति रचना र कुन कुन विधाका रचना पाठ्यपुस्तकमा समावेश छन् ?
→ हालसम्म कक्षा ३,४,५ र ११ कक्षाका पाठ्यपुस्तकमा गीत, कथा र कविता समावेश छन् ।
बालबालिकाको लागि उपयुक्त विधा कुन ठान्नुहुन्छ ?
→ बालबालिकाका लागि उपयुक्त विद्या भनेको गीत, कविता, कथा, नाटक आदि हुन् ।
बालबालिकाले साहित्यमा कलम चलाउँदा कस्तो अनुभूत गर्नुहुन्छ ?
→ बालबालिका भोलिका कर्णधार हुन् । यिनीहरुले साहित्यमा आजैदेखि कलम चलाउंदा पक्कै पनि साहित्यको श्रीवृद्धि हुने छ । साहित्यले, बालबालिकालाई अनुशासित पनि बनाउँछ । उनीहरूले सिर्जनामा कलम चलाउने भएपछि अध्ययनमा पनि रुचि बढ्छ । उनीहरू सदैव असल मार्गतर्फ अग्रसर हुने छन् । नयाँ खोज अनुसन्धानतिर पनि अग्रसर हुने छन् । त्यसैले मलाई उनीहरूप्रति गर्वानुभूति हुने गर्दछ ।
साहित्य रचना गर्दा कस्तो ठाउँ मन पराउनुहुन्छ ?
→ म एकान्तं प्रेमी हुँ । कामकाजबाट फुर्सद भएपछि प्राय एक्लै बस्न रुचाउँछु । अतः साहित्य सिर्जना गर्दा आफ्नै बासस्थानको ठाउँ मन पराउँछु । जहाँ आफूलाई सहज होस् ।
अन्त्यमा, हजुरले भन्न चाहेको तर मैले सोध्न छुटाएको केही कुरा छ भने बताइदिनुहोस् न !
→ प्रश्नको निम्ति धेरै धन्यवाद आर्या । तपाईले मलाई सोध्नुपर्ने र मैले जवाफ दिनुपर्ने कुराहरु त धेरै होलान् । बाँकी कुरा पछि हुँदै गर्ला । मलाई जे जति प्रश्न सोध्नुभयो, त्यसका लागि धेरै धन्यवाद !
अनि यो अवसर दिनुभएकोमा केटाकेटी अनलाइन बालपत्रिका परिवारलाई धेरै धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *