ललितपुर, पुस १४ गते शनिबार / रिजेन्ट आवासीय मावि, ललितपुर–२३, धापाखेलमा बालबालिकाको शिक्षण सुधारका लागि विद्यार्थीको सरोकारका विभिन्न विषयमा छलफल गरी तेश्रो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्ट अफ ज्वाएफुल प्यारेन्टिङ नामक यस कार्यक्रममा प्राथमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि छुट्टाछुट्टै हलमा आयोजित कार्यक्रमलाई प्रतीक्षा गौतम र सुशील उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।
प्राथमिक तहमा माया, ममता र बालबालिकाको व्यवहार विषयमा बालशिक्षा विशेषज्ञ प्रतीक्षा गौतमले प्रकाश पार्नु भएको थियो
भने माध्यमिक तहमा इन्टरनेटको सही प्रयोग विषयमा आइटी विशेषज्ञ सुशील उप्रेतीले प्रकाश पार्नु भएको थियो । दुवै विषयमा अभिभावकहरुले अन्तरक्रियाका सक्रिय भई छलफल गर्नुभएको थियो ।
अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमका अवसरमा रोटरी क्लब अफ महाबौद्ध र रिजेन्ट रेसिडेन्सियल स्कुलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
