आज विश्व क्षयरोग दिवस हाे । यस वर्षको विश्व क्षयरोग दिवसको नारा “हामी क्षयरोग अन्त्य गर्न सक्छौँ” भन्ने हो । विश्वभर मार्च २४ तारिकमा यो दिवस मनाउने गरिन्छ । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास गरिरहेकाे भएता पनि नियन्त्रण भने चुनौतीपूर्ण छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोग नियन्त्रणमा चुनौती रहेको बताउँदै उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेको बताउनु भयो ।
बालबालिकामा हुने क्षयराेगबारे अध्ययन हुनसकेन
बालबालिकामा हुने क्षयरोग र यसको जोखिमका विषयमा कुनै अध्ययन नै हुन सकेको छैन । क्षयरोग रोकथाम, निदान र नियन्त्रण सम्बन्धी राष्ट्रिय रणनीतिक योजनामा बालबालिकामा हुने क्षयरोगको जोखिमका विषयमा केही पनि याेजना समावेश छैन । त्यसैले बालबालिकामा हुने क्षयरोगको समयमै पहिचान, निदान र व्यवस्थापनमा कठिनाई रहेको छ । बालबालिकामा हुने क्षयरोगको व्यवस्थापनका लागि राष्ट्रिय निर्दे्शिकामै कमी रहेको छ । कुपोषित बालबालिकाहरूमा लक्षित क्षयरोग सेवाका प्रावधान तथा अन्य बालस्वास्थ्य कार्यक्रमहरूसँग क्षयरोग कार्यक्रमको समन्वयमा कमी रहेको देखिन्छ ।
स्थानीय तहमा खाेज तथा परीक्षण कार्यक्रम
सरकारले सुरु गरेको क्षयरोगमुक्त नेपाल अभियान मार्फत् १ सय २५ स्थानीय तहमा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रणका लागि ७ सय ५३ वटै स्थानीय तहमा खोज कार्यक्रम विस्तार गरिने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
सबैभन्दा बढी फाेक्साेका क्षयराेगी
क्षयरोगका बिरामीहरुमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोगी छन् । बाँकी २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् । केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका छन् । नेपालमा क्षयरोग उपचारको सफलता दर विश्वका अन्य देशको भन्दा उच्च रहेको छ । विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि एक हो । क्षयरोग सरुवा रोग भएकाले यसको समयमै निदान र उपचार जरुरी रहेको विज्ञहरु बताउँछन् । क्षयरोगका लक्षण भएका र जोखिम समूहमा पर्नेले क्षयरोग परीक्षण गर्न चिकित्सकहरुको सुझाव छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ३७ हजारभन्दा बढी बिरामी थपिएका छन् । क्षयरोग नियन्त्रण गर्न सकिने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक पर्ने केन्द्रले बताएको छ ।
छाती रोग विशेषज्ञ डा. केदारनरसिंह केसीले क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको जानकारी दिनुभयो । उहाँले लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगका कारण हुने बताउनुभयो । उहाँले क्षयरोग अन्त्य गर्न रोगीमाथि हुने भेदभावको अन्त्य हुनुपर्ने बताउनुभयो । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।