आज तराईमा होली

Featured Highlights राष्ट्रिय समाचार

रासस

१२ चैत, २०८०/ रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली अर्थात् फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पनि आज होली पर्व मनाइँदै छ ।

सबै प्रकारका भेदभावलाई अन्त्य गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ । “असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।”

धार्मिक महत्व सँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालियो । रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *