परिचय
मानिसलाई जुका लाग्नु भनेको उसको शरीरमा परजीवी पसेर पेटमा जुका लाग्नु हो । मानिसलाई परजीवीबाट हुने रोगहरुमध्ये जुका नै सबैभन्दा धेरै लाग्ने रोग हो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्ने रोग हो । यो रोग विशेष गरी बच्चाहरुलाई बढी लाग्ने भएकोले बच्चाको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ ।
जुका कसरी लाग्दछ ?
जथाभावी जहाँ पायो त्यहाँ दिसा गर्ने, राम्ररी साबुनपानीले हात नधुने, काँचो खानेकुरा राम्ररी धोइपखाली नखाने, जुत्ता नलगाई नाङ्गो खाली खुट्टा हिँड्नाले यो रोग लाग्दछ । बच्चाहरुलाई खाना बनाउनुअघि, खुवाउनुअघि, दिसा सफा गरेपछि आमाबाबुले राम्ररी हात नधोएमा बच्चालाई जुका लाग्न सक्दछ । जुका मानिसको आन्द्रामा बसेर हुर्किने र बाँच्ने परजीवी भएकोले मानिसको आन्द्राबाट पोषिलो खानाको साथै रगत समेत चुसेर आफ्नो जीवन निर्वाह गर्दछ । यसले हाम्रो शरिरको रगत चुस्ने भएकोले जुका लागेको मानिसलाई कुपोषण तथा रगतको कमी जस्ता समस्याहरु पनि आउँदछ । जसको परिणाम ः बालबालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि र विकासमा अवरोध पैदा गरी मृत्युको मुखमा समेत पु¥याउन सक्दछ ।
जुका परेमा देखिने लक्षणहरू
जुका लाग्दा भोक नलाग्ने, पेट दुख्ने, वाकवाक लाग्ने, आँखा, छाला, जिब्रो, ओठ र नङ फुस्रो देखिने, रिंगटा लाग्ने र आँखा तिरर्मिराउने हुन्छ ।जुका
गोलो जुका
नाम्ले जुका
अंकुशे जुका
जुका लाग्न नदिन के गर्ने ?
– चर्पीमा दिसापिसाब गर्ने गराउने,
– खाना बनाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, दिसा गरेपछि, बच्चाको दिसा धोएपछि र फोहोर कुरा छोएपछी साबुनपानीले हात राम्ररी धुने,
– घरबाहिर जाँदा जहिले पनि जुत्ता या चप्पल लगाउने,
– काँचो खानेकुराहरु जस्तो हरियो सागपात, गाँजर, मुला, काँक्रो, धनियाँ आदिलाई राम्ररी सफा पानीले धोइपखाली वा पकाएर खाने,
– राष्ट्रिय भिटामिन ए कार्यक्रम सँगसँगै १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधिको एक मात्रा ६,६ महिनामा खुवाउने ।
ध्यान दिनुपर्ने कुराहरु
माथि दिएका कुनै पनि लक्षण बच्चा या ठूलो मानिसमा देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्नुपर्दछ । स्वास्थ्य संस्थामा यसको औषधि र उपचार निःशुल्क पाइन्छ ।
(स्राेत: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौं)