२०८१ वैशाख १४/ देशभर आज बिहान ८ बजेबाट एकै साथ कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियाे । आजको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिनुभयो । बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको थियाे । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ । विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएका छन् ।
यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।
कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरिएकोमा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको छ ।