बालक विरुद्ध हुने हिंसा अन्त्यका लागि समूह

Featured Highlights तस्बिरको कथा मेरो आवाज राष्ट्रिय समाचार

कठमाडौं, १८ वैशाख / यौन हिंसा, दुर्व्यवहार भन्नसाथ हामीले अधिकांश रुपमा महिला र बालिकाहरु मात्र सोच्ने गर्दछौं । नेपालको विभिन्न कानूनहरु जस्तै अपराध संहिता अन्तर्गतको जबरजस्ती करणीको महलले समेत बालकमाथि जबरजस्ती करणी हुन सक्ने विषयमा मौन रहेको छ । त्यसैकारण बालकमाथिको बलात्कारको मुद्दा अप्राकृतिक मैथुन अन्तर्गत अघि बढ्ने गरेको छ । नेपालका विविध कानूनहरुमा बालकमाथिको हिंसाका विषयमा छलफल गर्न र यस मुद्दालाई पनि नेपालको बालअधिकारवादी आन्दोलन र ऐन तथा नीतिमा समेत स्थापित गर्नुपर्ने विषयमा सरोकारवालाहरुले एकसाथ आवाज उठाउनुभएकाे छ ।

यूनिसेफको तथ्यांक अनुसार प्रत्येक १३ जना मध्ये १ जना बालक १८ वर्ष पुग्नु अगावै यौन हिंसामा पर्ने गर्दछन् भने कानूनको विवादमा परेका ७१७ जना बालकहरु हाल विभिन्न सुधार गृहमा रहेका छन् । यो संख्या जम्मा सुधार गृहमा भएका बालबालिकाहरुमध्येको ९६ प्रतिशत हुन आउँदछ ।

(बालक विरुद्ध हुने हिंसा अन्त्यका लागि राष्ट्रिय संजाल समूहको निर्माण भएको छ । बालकमाथि हुने यौन हिंसाबारे जनचेतना जगाउने उद्देश्यका साथ सुरु गरिएको निलो छाता दिवस अर्थात् ब्लु अम्ब्रेला डे को अवसर पारेर याे समूहले पहिलाे कार्यक्रम गरेकाे थियाे ।)

एकातर्फ बालकहरुमाथिको दुर्व्यवहार र हिंसामाथि समाज मौन छ भने अर्कोतर्फ सानै उमेरबाट विषाक्त पुरुषत्व सिकाउँदै हुर्किरहँदा बालकहरु हुर्कदै गर्दा अपराधमा र लैंगिक हिंसामा संलग्न हुने क्रम पनि बढ्ने गरेको छ । यिनै विषयलाई सम्बोधन गर्नका लागि नेपालका बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि राष्ट्रिय संजालको निर्माण भएको छ । बालकमाथि हुने यौन हिंसाबारे जनचेतना जगाउने उद्देश्यका साथ सुरु गरिएको निलो छाता दिवस अर्थात् ब्लु अम्ब्रेला डे को अवसर पारेर कर्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सञ्जालका सदस्य संस्था सिविन नेपालका सागर भण्डारीले बालकमाथि हुने हिंसा र कानूनी जटिलताका विषयमा प्रकाश पार्नु भएको थियो भने भिओसीका कृति भट्टराईले निलो छाता दिवसको बारेमा बोल्नु भएको थियो ।

हामी दाजुभाइ संस्थाको संयोजन र क्याम्पेन फर चेन्ज संस्थाको सह संयोजनमा भएको ‘भाइलेन्स अगेन्स ब्याइज’ अर्थात बालकविरुद्ध हुने यौन हिंसाका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा हाल आठवटा संस्था आबद्ध भइसकेका छन् । क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक एवम अभियानका सह संयोजक ईशान रेग्मीले अप्रिल १६ तारिखका दिनदेखि सुरु गरिएको बालकहरु माथि हुने यौन हिंसा विरुद्धको अभियानमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकिकृत क्रियाकलापबाट अभियानलाई सशक्त बनाइने बताउनुभयाे ।
त्यसै गरी कायक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बाहादुर बानियाले बालकमाथि हुने हिंसामा ध्यान दिनुपर्ने र यो बारेमा जनचेतना फैलाउन साथसाथै रोकथाम गर्न सञ्जालको ठुलो भुमिका हुने कुरामा जोड दिनुभयो। अन्य सहभागी प्रतिनिधित्व हरुले पनि आफ्नो विचार र धारणा राख्दै अगामी दिनमा सञ्जाललाई साथ र सहयोग गर्ने वचन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *