डढेलोको असरले हिमाल पग्लने क्रम बढ्याे

Featured Highlights तस्बिरको कथा मेरो आवाज राष्ट्रिय समाचार

देशभरि फैलिएको डढेलोको असर हिमाली क्षेत्रमा पनि पर्न थालेको छ । डढेलोले बढाएको तातो हावाको लहरले सर्वोच्च शिखर सगरमाथा सहितका हिमालमा गर्मी बढाएको छ । यसले दीर्घकालीन असर पर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्नुभएकाे छ । डढेलो लाग्ने क्रम अझै नरोकिएको र प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा सगरमाथा लगायतका हिमालमा त्यसबाट सिर्जित धुवाँ अर्थात् कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाइ छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका जल तथा मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठका अनुसार जलवायु परिवर्तनले ल्याएको तातो र डढेलोको धुवाँले हिमालमा तराईको भन्दा बढी गर्मी तुल्याएको छ । यस्तै तातो र डढेलो बढेमा हिमनदी विलीन हुने खतरा बढेको उहाँले बताउनु भयो ।  धुँवामा हुने कालोपनले सूर्यको किरण अत्यधिक शोषण गर्छ । जसले गर्दा हिमाल तातिने प्रक्रिया छिटो हुन्छ । यसलाई केही हदसम्म कम गर्न तत्काल डढेलो नियन्त्रण गर्न केन्द्रीय सरकारले हस्तक्षेप गर्नुपर्ने विज्ञहरुको सुझाव छ । 

धौलागिरि हिमशृङ्खलामा रहेको एएच जेरो एन्ड जेरो नामको हिमनदी अबको १५ वर्षमा विलीन हुने अनुमान गरिएको छ । त्यस नदीका बारेमा सन् १९७४ मा अमेरिकाका तत्कालीन उपराष्ट्रपति एल्गोरले आफ्नो पुस्तक ‘इन इनभिटेबल ट्रुथ’ मा व्याख्या गर्नुभएको छ । सोसहित नेपालका धेरै हिमनदी उच्च तापक्रम र कार्बन उत्सर्जनका कारण उच्च जोखिममा छन् । हिमालको हिउँ पग्लने क्रम बढ्दै जाँदा बढेका हिमताल विस्फोटको खतरा पनि उत्तिकै छ । च्छो रोल्पा सन् १९७० मा सानो खाल्डोको पानीको स्वरूपमा थियो । ५० वर्षयता ठुलो घनत्वको ताल बनिसकेको छ । इम्जा हिमतालको अवस्था पनि उस्तै छ । नेपालका ९९ प्रतिशत हिमालको हिउँ पग्लिने क्रम जारी रहेको विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *