रासस, असार १७/
चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि नगरभित्रका बालबालिकाका लागि बाल बचत योजना सुरु गर्दै छ । नगरपालिकाले आफ्नो पालिकाभित्रका सबै बालबालिकाको नाममा रु ५ हजार सङ्कलन गरिदिनेछ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ । बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ । चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दति खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगर प्रमुख गिरीले बालबालिका १८ वर्ष पुगेपश्चात् उनीहरुको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो बालबालिका १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न रकमले केही सहजता प्रदान गर्न सक्छ । नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकलाई पनि आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित समेत नगर प्रमुखको आग्रह छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गरेर बालबालिकाको नाममा रु ५ हजार रकम सङ्कलन गरिदिन लागिएको बताउनुभयो । यसले बाल मैत्री स्थानीय शासनलाई थप प्रवर्द्धन गर्ने उहाँको भनाइ छ ।