काठमाडौँ, भदौ ४/ आजबाट काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु हुने भएको छ । आज र भोलि दुई दिन चल्ने यस सम्मेलनमा भारत, कोरिया, बंगलादेश लगायत देशका ३१ जना बालसाहित्य सर्जक र अनुसन्धाताहरुले आआफ्नो अनुसन्धान पत्रहरु प्रस्तुत गर्नुहुने बताइएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन गइरहेकाे यस महोत्सवले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउँदै नेपाली बालसाहित्यको गुणात्मक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपालबाट १ सय ५० बढी बालसाहित्य लेखक, शिक्षक, पुस्तकालय कर्मी, चित्रकार, बालअधिकारकर्मी र बालबालिकाका निम्ति कार्यरत पत्रकारहरु आदि सहभागी हुनुहुने यस सम्मेलनको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिड नेपालले गरेका हुन् ।
सम्मेलनको उद्घाटन कार्यक्रम आज भदौ ४ गते शुक्रबार बिहान आठ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा आयोजना हुनेछ ।