शिक्षा क्षेत्रमा एक दशकदेखि काम गरिरहनुभएका व्यक्तित्व निरञ्जन खत्रीको ‘दसैँ’ किताब नेपाली बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ । यो फरक किसिमको शब्दविहीन किताब हो । यो किताब हाम्रो सांस्कृतिक पर्व दसैँको विषयमा तयार गरिएको छ ।
दसैँसँग सम्बन्धित १५ वटा विषयमा समेटिएको यस किताबमा पाठक बालबालिकालाई आफ्नो दसैँ मनाउँदाको समयको स्मरण गर्दै त्यो समयलाई सम्झँदै त्यो भावमा रमाउन अपिल गर्नु यस किताबको सुन्दर पक्ष हो । साथै लेखकले विषय र चित्र छनोट गर्दा दसैँ मनाउने विविध समुदायको फरफरक चलनबिचको साझा सबैकोमा मिल्नजाने विषयलाई छनोट गर्दा यस कृतिको गरिमा अझ बढेको महसुस हुन्छ । यसका लागि लेखक निरञ्जन खत्री र चित्रकार रजनी गजमेरलाई बधाई छ ।
वास्तवमा दसैँसँग सम्बन्धित रहेर स्वच्छ (सरसफाइबाट सुरु गरिने दसैँको तयारी), छृट्टी (लामो बिदाको समय), बालीनाली (बाली थन्क्याउने समय), बजार (बजारमा दसौ किनमेलको चहलपहल बढ्ने), खेल (लङ्गुरबुर्जा र अन्य खेलको रमाइलो), जमरा (घरघरमा जमरा राख्ने कार्य), पूजा (देवी भगवतीको पूजा), चङ्गा (चङ्गा उडाएर रमाइलो गर्ने), मासुभात (मासुभात खान पाइने मजा), पिङ ( पिङ खेल्दाको रमाइलो), हर्षाेल्लास (पारिवारिक मिलनमा हुने रमाइलो), खुत्रुके (पैसा बचत गर्दाको सम्झना), एकता (सबैले मिलेर एकअर्कालाई सहयोग गर्दै एक भएर काम गर्ने), आशिष् (आर्शीवाद लिने चलन) र कुटुम्ब (आफन्तहरु भेटघाटको समय) जस्ता विषय शीर्षकहरु दिएर लेखककले पाठकलाई चित्र हेर्दै आफ्नो स्मृतिमा डुबुल्की मार्दै रमाउने मौका दिएका छन् । यो शब्दविहीन पुस्तक हरेक भाषाभाषीका बालबालिकाले दसैँबारे चित्र हेर्दै आफ्नै मातृभाषामा छलफल गर्दै र लेख्दै रमाएर प्रयोग गर्न सक्ने किताब हो । ।
यस्ता किताबको प्रयोगले मातृभाषामा प्रारम्भिक शिक्षा लिन पाउने बालबालिकाको अधिकारको संरक्षण गर्दछ किनकि यो ८ वर्षमुनिका बालबालिकाका लागि उपयोगी किताब हो । आफ्नो अभिावकसँग बसेर दसैँबारे चित्र हेर्दै आफ्नै मातृभाषामा कुराकानी गर्दै दसैँको सम्झनामा डुबुल्की मार्न पाइने सुविधा यस किताबले पाठकलाई दिएको छ । जसबाट आफ्नो मातृभाषामा बालसाहित्यको फाइदा लिन पाउने बालअधिकारको सम्मान भएको छ । हाम्रो देश नेपाल बहुभाषिक देश हो । यहाँ सयभन्दा बढी भाषाहरु छन् । यस्ता किताबले मातृभाषाको प्रयोगलाई प्रोत्साहित गर्नेछ ।
नेपाली बालसाहित्यलाई सुन्दर कृति उपहार दिनुहुने निरञ्जन खत्री एक दशकभन्दा बढी समयदेखि कार्यरत शिक्षाविद् र अनुसन्धानकर्ता हुनुहुन्छ । अब उहाँले नयाँ परिचय नि पाउनुएको छ, त्यो बालसाहित्य लेखकको परिचय हो । उहाँ अब बालसाहित्य लेखक निरञ्जन खत्री हुनुभएको छ । उहाँलाई बधाई र शुभकामना छ । उहाँजस्तो विशेषज्ञबाट नेपाली बालसाहित्यको गुणात्मक विकासमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।
विद्यार्थीहरुको फरक रुचि र क्षमताको पहिचान गरी शिक्षकले आफ्नो सिद्धान्त र बुझाइद्वारा शिक्षण गर्नुपर्छ भन्ने विचार राख्नुहुने लेखक/अनुसन्धाता खत्री भन्नुहुन्छ, ”खोज, अनुसन्धान र अनुभवबाट प्राप्त सिकाइलाई व्यवहारमा उतार्न र सहयोगीको भूमिका पूरा गर्न २०७४ सालमा कक्षालयको स्थापना गरेका हौँ । हाल म कक्षालयमा कार्यकारी निर्देशशकका रुपमा कार्यरत रहेको छु ।”
त्यस्तै यस पुस्तकका चित्रकार रजनी गजमेर काठमाडौँ विश्वविद्यालयबाट ग्राफिक सञ्चार विषयमा स्नातक गर्दै हुनुहुन्छ । दृश्यकथा भन्न रुचि गर्नुहुने रजनीको चित्रांकन सराहनीय रहेको छ ।
कक्षालयबाट मोटो गाता संकरणमा प्रकाशित ४० पेजको यस आकर्षक रंगीन कृतिको मूल्य रु. ६४९ रहेको छ ।