काठमाण्डाै, पुस १८ – १३ वर्षीय बालगायक सचिन परियारको निधन भएको छ । परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ ।
सचिनको विगत एक वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमाेनियाकाे कारण सचिनकाे ज्यान गएकाे जनाएकाे छ । गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय हुनुहुन्थ्याे । उहाँले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गर्नुभएकाे थियाे । बालगायक परियारले ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘वरको छायाले’ जस्ता गीत गाउनुभएकाे थियाे ।
मूल घर गुल्मी भएका बालप्रतिभा परियारलाई गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले उनलाई काठमाडाैँ ल्याएका थिए । उहाँको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ र उपचारमा नभई परिवारले फजुल खर्च गरेको भन्दै आलोचना पनि भएको थियो । यस विषयमा अनुसन्धान हुनु जरुरी देखिन्छ । यस्ताेबालबालिकाकाे सरक्षणका लागि राज्यले बालमैत्री नीति नियम बनाउनु पर्ने टड्काराे आवश्यकता देखिएकाे छ ।
बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
यसैबिच बालगायक परियारकाे निधनप्रित प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गर्नुभएको थियाे ।
प्रधानमन्त्रीज्यूले सामाजिक सञ्जालमार्फत् दिनुभएकाे समवेदना सन्देश :
“बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घट्नाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली” ।
परियारको १३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचारका क्रममा पुस १८ गते बिहान १०ः४५ बजे निधन भएको थियो ।