मेरो देश

निबन्ध साहित्य

अञ्जना राज

‘जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी’ । नेपाली पवित्र भूमिमा जन्मिएर यहाँको ममतामयी सुवासले पुलकित भई हराभरा तराईका हरिया फाँटहरुसँगै सुसेल्ने रहर मेरो । पहाडी खोल्सा, छहरा, छाँगा अनि झरनाहरुसँग मितेरी गाँस्ने रहर मेरो । अनि प्रत्येक मिर्मिरेमा प्रभाकरको न्यानो किरण माथमा परेपछि उज्यालिने ती हिमाली टाकुरासरी आफ्नो देशको प्रगतिपथलाई अग्ल्याउने रहर मेरो । मेरो देशको कर्मठ नागरिक हुने रहर मेरो । मेरो अन्तरमनको ।

मेरो देश, जहाँका मानिसहरुलाई छलकपट, हिंसा पापसरी लाग्दछ, जो एकअर्काका माया साटेर बाँच्न चाहन्छन्, जसलाई भाइचारा र शान्ति प्राणभन्दा प्यारो लाग्दछ । यस्तो छ मेरो देश । अग्ला, हरिया पहाडको फेदीमा लालीगुराँस मुस्काउने गर्छ, अलि माथि आफ्ना नौरंगी प्वाँख फिँजाई डाँफे आफ्नो कल्की ढल्काई–ढल्काई कालिज र मुनालसँग नाच्ने गर्दछ, मेरो देशमा । अनि त्यहाँभन्दा अलिकति माथि विशाल नीलगन प्रकृतिको यो अनुपम छटा अझ नियाल्न ऊ… पर क्षितिजमा धर्तीलाई चुम्न आएको भान हुन्छ । मेरो देश जहाँ हिन्दूहरु बौद्ध धर्मावलम्बीहरुसँग ल्होसार मनाउँछन्, मुसलमानहरु पनि छठ मनाउँछन्, जातीय अनेकताभित्र वैचारिक, धार्मिक अनि सामाजिक एकताको केन्द्रविन्दु मेरो देश ।

लेखिका अञ्जनाको सन् २०२२ मा खिचिएको फोटो । हाल उनी जापानमा बस्छिन् । यो लेख उनले विद्यालय पढ्ने समयमा लेखेकी हुन् ।

चार जात छत्तीस वर्णको साझा फूलबारी मेरो देश । पहाड जाडोले लुगलुग काम्दा तराईले न्यानो बनाइदिने गर्छ अनि तराईमा हुरी आउँदा पहाडले छेकिदिने गर्दछ यहाँ । पूर्वमा मेची कलकल गरी बग्दो छ अनि पश्चिममा काली सुसाउँदो छ । समथर जमिनबाट सुरु भएर विश्वमै अग्लिएको मेरो देश, मलाई सबैभन्दा प्यारो लाग्छ । यही माटोमा म उफ्रेँ, मैले खाएँ, खेलेँ अनि यहीँको कण–कणले म बनेकी छु । गौरव लाग्छ मलाई, मेरो देशप्रति र गौरवान्वित छु म नेपाली हुन पाएकीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *