मेरो देश खै ? – श्लेष्मा क्षेत्री

Featured कथा साहित्य

मेरी श्रीमती प्रतिमा भुसक्क निदाएकी छिन् । निदाएकै बेला भएपनि उनको मुहारमा खुसी छल्केको मैले महसुस गरेको छु । अर्को ओछ्यानमा छोरा र छोरी पनि यस्तै सन्तुष्टि को निन्द्रामा मस्त छन् । घडीले पनि आफ्नो गतिलाई रोकेको छैन रातको एक बजाइसकेको छ । मलाई भने पटक्कै निन्द्रा लागेको छैन । मन यसै छट्पटाइ रहेको छ । यसो चारैतिर हेर्छु श्रीमतीले यात्राको लागि ठीक पारेका स-साना झोलाहरुले मलाई गिज्याइरहे जस्तो लाग्छ । यो मेरो बासस्थान जसलाई भूटानी सरणार्थी शिविर भन्छन् । यस शिविरमा मैले सत्रबर्ष बिताइसकेको छु । जसले मेरो उमेरलाई पनि यो भन्दा दोब्बर बनाएको छ ।

त्यो क्षणहरु मलाई कहिल्यै पुरानो लाग्दैन जहिले पनि हिजो जस्तै लाग्छ जतिबेलामा म मेरो जन्मस्थान भूटानमा थिएँ । बाबुआमाको एक्लो छोरो, खान लाउन दुःख थिएन । मायाको संसारमा हुर्कदै थिएँ । साथीहरुसंग पनि धेरै आत्मियता थियो अनि जीवनको बाल्यकाल रमाइलै रमाइलोमा बित्यो । मेरो सबैभन्दा मिल्ने साथी कर्मा साह्रै मिलनसार थियो । उसको घर र मेरो घर सँगै थियो हामीमा पारिवारिक मित्रता थियो । हामीले मनाएका हरेक खुशियालीमा हामी दुबैको उपस्थीति हुन्थ्यो । अनि सबैले हाम्रो मित्रतालाई उदाहरण दिन्थे ।

एकदिन भूटानमा भएको राजनितीक आँधिले हामी सबैलाई तहस नहस पारेर हामीलाई लखेटिन बाध्य बनायो । अनि हामीले गन्तब्यहीन यात्रामा भिरपाखामा गुडुल्किदैं भारतको बाटो हुँदै नेपालको पूर्वी भेगको झापाको खुल्ला ठाउँमा आएर सास फेर्यौं । भोक भोकैं दिन काट्यौं अनि आकाशको छतमुनि जीवनको ढुकढुकि साँच्यौं । विस्तारै विस्तारै हामी दयामायाको पात्र बन्यौ र प्राप्त भएका सहयोगबाट हाम्रा लागि स-साना टहराहरु निर्माण गरिए । त्यही टहरामा जीवन विताएको आज सत्रबर्ष बितेछ ।

यही हो हाम्रो सानो संसार जसलाई भूटानी सरणार्थी शिविर भनिन्छ । यो यही शिविर हो जहाँ मैले बाल्यकालपछिको समय विताएँ । अनि अभावै अभावको जिन्दगीमा सम्झौता गर्दै जीवनको गति अघि बढाइ रहें । मेरो आत्मीय मित्र कर्माको साथ त लखेटिएकै दिन छुटेको थियो । त्यसपछि शिविरमा आएको केही बर्षपछि पहिले आमाको माया खोसियो र केही समयको अन्तरमा पिताको माया पनि खोसियो । म त्यसै भौतारिरहेको थिएँ । एकजना साथीसँगको मित्रताको कारण म पनि बसको टिकट काउन्टरमा काम गर्न थालें । काम जस्तो भएपनि आफ्नै मेहेनतको कमाइ भएकोले आत्मसन्तुष्टि मिल्दै गयो । झापाकै केटीसँग विवाहपश्चात जिन्दगी राम्रै रहृयो । एक छोरी र एक छोरासहितको सानो परिवारको जीम्मेवारी निभाउँदै गएँ । त्यसरी नै समयको चक्र घुम्न थाल्यो ।पटक पटक आफ्नो देश फर्किने आशामा आन्दोलनमा पनि नहोमिएको होइन म। एक पटक त ठूलै आन्दोलन भएर धेरै अगाडि बढियो तर मेची पुलमा पुगेपछि आन्दोलन रक्तपातपूर्ण बन्यो । त्यसबेलाको घाउँको खाटा भने अझैपनि राम्ररी पुरिएको छैन । त्यस्तैमा अर्को एउटा नयाँ कुराको थालनी भयो ।

भूटानी शरणर्थीहरुलाई पुनर्वासको लागि अन्तर्राष्ट्रिय आप्रवास संगठनमार्फत् अमेरिका लगिने । यो कुराले शिविरमा निकै हलचल ल्यायो । कसैले यसका राम्रा पक्षको बखान गर्न थालें भने कसैले नराम्रा पक्ष तर यस हलचलले पनि मेरो परिवारलाई अलग राख्न सकेन । मेरी श्रीमती प्रतिमाले मलाई जिद्दी गर्न लागि हामी पनि आवेदन हालौं भनेर । मलाई भने पटक्कै चासो थिएन । किनकि भित्री मनले मलाई मेरै जन्मस्थलमा जान मन थियो । ढिलो चाँडो जहिले भएपनि मर्नुभन्दा अगाडि । तर के गर्नु कहिलेकाँहि अरुको लागि चल्नु पर्दो रहेछ मैले सोचें मेरो इच्छा भन्दा मेरो परिवारको खुसी महत्वपूर्ण छ । अनि मैले नचाहदा नचाहदै भएपनि अमेरिकामा पुनर्वासको लागि दरखास्त हालें । मेरी श्रीमतीको चाहना अनुरुप नै सबै प्रक्रिया मिल्दै गयो । हामी स-परिवारको तीन पटकसम्म अर्न्तवार्ता भयो अनि हाम्रो यात्रा निश्चित भयो । मेरी श्रीमती धेरै खुसी देखिन थालिन् । उनी निक्कै व्यस्त हुन थालिन् । उनी अमेरिकामा भएका चिन्ने मान्छे खोजी खोजी सम्पर्क गरी त्यहाँको बारेमा आवश्यक कुराहरु संकलन गर्न थालिन् । अनि उनका आफन्तहरुसँग भेटघाटहरु बढ्न थाले । उनी धेरै मिठा मिठा सपना बुन्न थालिन् । कहिले काँहि छोरा छोरीलाई भन्ने गर्थिन्, “तेरा बाबु शरणार्थी भएपनि भाग्यमानी रहेछन् अमेरिका जान पाए” मलाई यस्तो सुन्दा जीवन शून्य बनेजस्तो लाग्दथ्यो अनि मनमनै भन्दथें अमेरिका भनेको क्या हो- जाने सहरको नाम साल्ट लेक सिटी भन्ने सुनिन्छ तर राम्ररी भाषा त बोल्न आउँदैन के काम गर्ने अनि यो बाँकी आधा उमेरलाई कसरी त्यहाँ समर्पित गर्ने फेरि सुनिन्छ हामी जस्तालाई शहरभन्दा टाढा गाउँमा लगिन्छ रे जहाँ हामीले आफ्नो नयाँ जीवनलाई सुरुआत गर्नु पर्छ रे आदि ।


हाम्रो जाने दिन जति नजिक हुन्थ्यो म त्यतिनै निरास हुन थालें । मलाई भने एक्लो भएको अनुभव भयो । हुन त म एक्लै थिएँ । न बाबु-आमा थिए । नत अभिन्न मित्र नै मेरो मनमा के छ बुझ्ने जमर्को कसलाई नै थियो र । मेरो अन्तरआत्माले भने अमेरिका होइन भूटान नै जान खोजिरहेको थियो । साँच्चै भनौं भने त्यो ठाउँ छोडेपछि बरु सत्र बर्ष बिताएको यही शिविरकव नै माया लाग्छ । किनिकि यहाँ म जस्तै भाग्यले ठगेका मेरा आफन्तहरु छन् । जोसँग रगतको नाता नभएता पनि आत्मियताको नाता गहिरो छ । जहाँ मैले मेरै भाषा बोल्न सक्छु अनि सबैको संस्कार एउटै छ ।
जे होस् समयसंगै चल्नै पर्यो मैले । आफ्नो इच्छाभन्दा समयलाई साथ दिए जस अनुरुप भोलि हामीलाई आईओएमको गाडीले भद्रपुर अनि त्यहाँबाट हवाइजहाज चढाएर काठमाडौं लग्दैछ । जहाँबाट हामी अमेरिका जाने हवाईजहाज चढ्नेछौं । त्यसैले त म रातभरि नसुति मेरा वितेका जीवनको स्मरण गर्दैछु अन्तिम क्षणमा ।

उज्यालो हुनै लाग्दा प्रतिमा उठिन् र छोराछोरी र मलाई उठाउँदै आज जानुपर्ने स्मरण गराउँदै हतार गर्न थालिन् । सबैजना जराक्क जुरुक्क उठेर तयारीमा जुटे । अनि वरपरका मानिसहरु जो हामीसँग जाँदै थिए सबैको शिविरमा मसिनो खलवली सुनियो । मेरा छोराछोरीहरु खुसी हुदै बाबा, हवाईजहाजमा कस्तो हुन्छ भनेर सोध्दै थिए । हाम्रा सामानहरु त हिजैं प्याक थिए । त्यसै निर्धारित समयमा हामी शिविरलाई अन्तिम विदाई गर्दै निस्कियौं । मेरा आखाँहरु रसाए कसैले देख्ला कि भन्दै मैले मुन्टो लुकाएँ र गाडीमा चढें । गाडीले आफ्नो गति बढायो भद्रपुर एअरपोर्ट जान तर मलाई भने उल्टो बाटो आएजस्तै लागिरहेको थियो । मनले भने भूटान नै फर्काइ रहेको थियो । मेरा आखाँहरु नथामिकन भेल बगाइरहेको थिए । मेरो देश छोडेर अर्को देश आएँ अब त्यो पनि छोडेर झन अर्को देश जाँदैछु सदाको लागि । आखिर मेरो जन्म थलो, कर्म थलो अनि मेरो परिचय गराउने देश कुन रहेछ त ? के म जीवनको अन्त्यसम्म पनि कुनै स्पष्ट जवाफ नपाई बाँचेको हुन्छु त ? यो कसलाई सोध्ने ? मेरा साथ दिने कोही त थिएनन् । तसर्थ गालाबाट बगिरहेका ती ताता र नूनिला आँसुका ढिक्काहरुलाई म प्रश्न गरिरहेको छु, मेरो देश खै ? 

(लेखिका क्षेत्री हाल Bates College अमेरिकामा स्नातक तहमा अध्ययनरत छिन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *