कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७ वितरण

राष्ट्रिय समाचार

विगत नौ वर्षदेखि जीवनका अप्ठ्यारा मोडहरूमा पनि अभाव र समस्यालाई चिर्दै विलक्षण प्रतिभाशाली हुँदै उज्यालो भविष्यतर्फ अघि बढिरहेका प्रतिभाशाली बालबालिकाहरूलाई प्रदान गरिदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार वि.सं. २०६७ सालको लागि दुइजना प्रतिभाशाली बालिकाहरुलाई प्रदान गरिएको छ ।

पुरस्कृत हुनेमा दोलखाकी सुमिक्षा खड्का र भक्तपुरकी निशा गिरी रहेकी छिन् । सुमिक्षा कक्षा ९ मा अध्ययनरत छिन् । उनी हुरेसु नेपाल नामक संस्थाको बालगृहमा बस्छिन् । त्यस्तै कक्षा ७ मा पढ्ने निशा बागेश्वरी भक्तपुरमा बस्छिन् ।

कार्यक्रममा काठमाडौंका बाल वैज्ञानिक स्वप्नील थपलियालाई पनि प्रसंशापत्र प्रदान गरी सम्मानित गरिएको छ । पुरस्कृत बालिकाहरुमा सुमिक्षा खड्कालाई नगद रु १०,००१ र निशा गिरीलाई नगद रु ५,००१ सहित पुरस्कत गरिएको थियो ।

कोषका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको समारोहमा वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, केन्द्रीय बालकल्याण समितिका निर्देशक धर्मराज श्रेष्ठ, प्रथम नायिका भुवन चन्द, वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराइ, वरिष्ठ साहित्यकार गोपाल पराजुली र वरिष्ठ संगीतकार रामकृष्ण दुवालले संयुक्त रुपमा बालप्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

यस अधि वर्ष २०६४ मा पुरस्कृत बालक गणेश ढुंगानाले समारोहमा सारगर्भित मन्तव्य व्यक्त गरी पुरस्कृत भएपछिको सफलताको कथा सुनाइ सबैलाइ मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कोषका सचिव महेश पौड्याल प्रारम्भले यस कोष बालबालिकाका निम्ति विगत चौध वर्षदेखि लेखनरत लेखक र स्वतन्त्र पत्रकार कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित भएको र घिमिरेका बालसाहित्यका ३७ वटा कृतिहरू प्रकाशित भएको जानकारी गराउँनु भएको थियो । साथै घिमिरेका एक दर्जनभन्दा बढी कथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकहरुमासमेत समावेश गरिएको छ । यो पुरस्कारबाट हालसम्म ४० जना बालबालिकाहरु पुरस्कृत र २४ जना बालबालिकाहरु सम्मानित भइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.