स्कुल बसमा किन कोचिन्छन् विद्यार्थी ?

मलाई केही भन्नु छ मेरो आवाज

ऐ चावेल ! चावेल ! ! चावेल ! ! !

यो काठमाडौको र्सार्वजनिक यातायातको साधनको खलासीको आवाज हो । उसले ठाउँ कुठाउँमा एउटा यात्र देख्यो भने पनि जाने हो भन्दै ढङ्ग ठटाएर गाडी रोक्छ र त्यो यात्रुलाई चढाएर हिड्छ ।

उसले यसो किन गर्‍यो होला त ?

यसको उत्तर पनि सहज नै छ । किनकि यही नै उसको व्यापार  हो । एउटा यात्रु बराबर थोरैमा पनि उसको बाह्र रुपियाँको व्यापार हुन्छ । त्यसरी नै उसले यात्रु कोचाकोच हालेर पैसा कमाइरहेको  छ ।

ठीक यसरी नै निजी विद्यालयहरूले पनि एउटा विद्यार्थी वरावर न्यूनतम् तीनसय रुपियाँ देख्छन् र टेम्पोवालाले कोचेझै विद्यार्थी बसमा कोच्ने गर्छन् । उपत्यकाका यी विद्यालयमा एउटा विद्यार्थीले बस सुविधा लिएवापत न्यूनतम् तीनसयदेखि एक हजारसम्म शुल्क विद्यालयलाई बुझाउँने गरेका छन् । काठमाडौंका नाम चलेका ठूला विद्यालयले स्कुल बस चढेवापत विद्यार्थीले दिने शुल्कको व्यापार नै मासिक चालिस लाखसम्म हुने कुरा अध्ययनले देखाएको छ ।

यस्तो अवस्थामा एउटै क्षेत्रमा विद्यार्थी बढे पनि एउटै बसले काम चलाउँने प्रवृति पैसा जोगाउँने मनसायले अहिले स्कुल बसले विद्यार्थी कोचिरहेका छन् ।

वास्तवमा र्सार्वजनिक सवारीमा जस्तो स्कुल बसमा यात्रु अनिश्चित हुने भएर यस्तो भएको भने होइन । विद्यालय भर्ना हुँदै हरेक फरक क्षेत्रबाट आउँने बच्चा निश्चित हुन्छन् । उनीहरूले वाषिर्क रुपमा बुझाउँने शुल्क पनि निश्चित हुन्छ तर यस्तो अवस्थामा पनि विद्यार्थी उभ्यायर र कोचेर यात्रा गराउँनु भनेको फितलो ट्राफिक कानुन नियमको फाइदा उठाएको हो र अभिभावकको सहनशील स्वभावको पनि दुरुपयोग गरिएको हो । त्यसैले आजैबाट हरेक विद्यार्थी र अभिभावकले यस विषयमा बोल्न सुरु गरौं । स्कुल बसमा उभिएर यात्रा गर्नुपर्ने दिनको अन्त्य गर्न कम्मर कसेर लागौं ।

स्कुल बसमा कोचिने विद्यार्थीहरू के भन्छन् ?

नरायणहिटी सङ्ग्राहालय अवलोकन गरी र्फकनेक्रममा एउटै बसमा क्षमताभन्दा दोब्बर विद्यार्थी कोचेर लैजाँदै गरेको स्कुल बसलाई ट्राफिकले समातेर कार्वाही गरेपछि बल्ल यो कुरा राष्ट्रिय चासोको विषय बन्यो । त्यसपछि ट्राफिक प्रहरीले स्कुल बसमाथि कडा निगरानी गरी काठमाडौंका नाम चलेका केही निजी विद्यालयहरूलाई कार्वाही पनि गर्‍यो । देशको बुटवललगायतका क्षेत्रमा त अभिभावकहरू आफै समूह बनाएर छड्के गर्दै सडकमा पनि निस्किए ।

वास्तवमा यी सबै कुराले सकारात्मक परिवर्तनका लागि दवाव त सिर्जना गरेको छ ।

यहीं समस्याको भुक्तभोगी भएका स्कुल बस प्रयोग गर्ने विद्यार्थी माझमा पुगेर हामीले यस विषयमा व्यक्तिगत धारणा बुझ्ने प्रयत्न गरेका छौं ।

यसक्रममा हामीले काठमाडौंका ब्यस्त चोकहरूमा पुगी विद्यालय जाने र र्फकने समयमा विद्याथीहरूलाई भेटी कुराकानी गरेका थियौं । व्यक्तिगत धारणा लिनेक्रममा आएका केही तीता र केही रमाइला धारणारू पनि आएका छन् । त्यसलाई यो अंकमा प्रस्तुत गरेका छौं ।

स्कुल जानै दिक्क लाग्छ ?

मेरो नाम निस्था महर्जन (परिवर्तित नाम० हो । म अहिले कक्षा ८ मा पढ्छु । म मेरो स्कुल बसको यात्राबाट दुःखी छु । म स्कुल बस चढ्दा सँधै दिक्क मान्ने गर्छु र कहिलेकाही स्कुल जानु नै नपरोस् जस्तो पनि लाग्छ । तर स्कुल पुगेपछि म साथीहरूसँग रमाउँछु र फ्रेस हुन्छु ।

म सँधै गौशालाबाट स्कुल बस चढ्ने गर्छु मेरै स्कुलमा क्यान्टिनमा काम गर्ने एक जना दाइ छन् । उनी पनि मित्रपार्कबाट बस चढ्ने गर्छन् । बसमा हामी सँधै थुप्रै साथीले उभिनु पर्छ । ती दाइ ङच्च दाँत देखाउँदै सँधै मेरै छेउमा आएर उभिने गर्छन् । उनी घरीघरी बस हल्लेको बहानामा मेरो जिउमा छुने गर्छन् । कहिलेकाही मलाई नमज्जा लाग्ने गरी ढाडमा हात राखेर मालिस गर्दिनु पर्‍यो भन्दै उभिन्छन् । मलाई उनको यो बानी देखी दिक्क लाग्छ ।

साह्रै वाक्क भएर म कहिलेकाही उसले नदेखोस् भनेर लास्ट सिटतिर गएर उभिने गर्छु त्यहाँ पनि ऊ दाँत देखाउँदै आइपुग्छ । यो समस्याले गर्दा म दुःखी छु । मेरो बसमा बस्ने सिट पाउने भए यस्तो हुँदैन थियो होला जस्तो मलाई लाग्छ । त्यसैले यो कुरा कसलाई भन्नु पर्ने हो मलाई थाहा छैन तर यही पत्रिकाबाट भन्छु ( स्कुल बसमा हिँड्ने सर मिसले आफ्ना बच्चाको अवस्थाको पनि ख्याल गरिदिनु पर्छ । यो भए मजस्ता थुप्रै साथी खुसी हुने   थियौं। यस्तो समस्या मेरा केटी साथीहरू धेरैको छ भन्न नसकेका मात्र हुन् ।

सिट पाउन दुइ स्टेशन पछाडिसम्म हिँडेर गई चढ्थेँ

म राधा पुडासैनी (परिवर्तित नाम० हुँ । म काठमाडौंको नाम चलेको स्कुलमा पढ्छु । तर म सँधै स्कुल बस आउने समय भन्दा एक घन्टा पहिले घरबाट हिंडेको विषयमा ममी र मेरो दुइ वर्षसम्म धेरै डिस्कस भयो । मैले कक्षा ७ देखिको डिस्कसको समाधान एक वर्षछि आएर गरें ।

हो, त्यो बेला म कक्षा सातमा पढ्थें । स्कुल टाढा थियो । सँधै बसमा सिट नपाउने । कहिले जाम, कहिले टायर बलेको बाटो परेर बस घुमाएर लानु पर्ने । म सँधै पौने घन्टादेखि डेढ घन्टासम्म बसमा उभिनमा पर्थें ।

यस्तै दुःख पाउँदा पाउँदै एकदिन मेरी साथीले मलाई हेर, मेरो घरको स्टेशनबाट चढ्ने गर त्यहाँ बसमा आठ दशवटा सिट खाली हुन्छ भनेर सुझाव दिई । उसको कुरा सुनेपछि मैले बेलुका घर गएर धेरै सोचें । त्यसपछि भोलिपल्टदेखि म घरबाट एकघन्टा चाँडो हिड्न थालें । अनि म दुइ स्टेशन पछाडि आधा घन्टा हिडेर गई बस चढ्न थालें । यो कुरा मामुलाई नभन्दा सँधै यति चाँडो कहाँ जान्छेस् भनेर डिस्कस् पर्ने गर्दथ्यो । भनौं त मामु खरो स्वभावको हुनुहुन्थ्यो । मलाई धेरै माया पनि गर्नु हुन्थ्यो । उहाँले स्कुल नै चेन्ज गरिदिनु भएर साथीहरूसँग छुट्टिनु पर्ला भन्ने मलाई ठूलो पिर थियो ।

तर जब मैले यो कुरा मामुलाई भनें । उहाँले रुँदै मलाई अँगालो हाल्नु भयो र गालामा म्वाइ खानु भयो । केही भन्नु भएन ।

खैर जेहोस्, म अहिले एसएलसी दिने तयारीमा जुटेकी छु । होस्टेलमै बस्छु । तर मलाई के लाग्छ भने हरेक स्कुल बसमा सिटभन्दा एउटा पनि बढी विद्यार्थी हाल्यो कि कार्वाही गर्ने नियम बनाउनु पर्छ । अनि मात्र मजस्ता विद्यार्थीहरू खुसी हुने थियौं ।

साभार : केटाकेटी न्युज भाद्र २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *