आवाज

किशोर साहित्य नाटक साहित्य
  • कार्तिकेय घिमिरे

पात्रहरू :
जून : ‘जून’ को चित्र भएको रङ्गीन टल्कने आकर्षक टोपी लगाएर सजिएकी ९ वर्षकी बालिका ।
तारा : ‘तारा’ को चित्र भएको रङ्गीन टल्कने आकर्षक टोपी लगाएर सजिएको ९ वर्षको बालक ।
त्यस्तै ८, ९ र १० वर्ष उमेरका ६ जना बालबालिकाहरू (३ जना बालक र ३ जना बालिका) बालक १, बालक २, बालक ३ र बालिका १, बालिका २ र बालिका ३ ।

पर्दा खुल्छ,
(मञ्चमा एउटा जून र अर्को तारा बनेका बालक र बालिका उभिरहेका हुन्छन् । जूनको टाउकोमा टिलिक्क टल्कने जून टोपी छ । त्यस्तै ताराको टाउकोमा पनि टिलिक्क टल्केको तारा टोपी सजिएको छ । ठिक त्यतिबेला ६ जना बालबालिकाहरू मञ्चमा आइपुग्छन् । मञ्चको पृष्ठभूमि भित्तामा आकाशको दृश्य छ ।)

जून : आऊ आऊ साथी हो ! आज रमाइलो गर्ने हो ! (नाच्दै, हात हल्लाउँदै)
तारा : आज त रमाइलो परीको कथा सुन्ने हो ?
बालक १ : भो तारा तिम्रो घर आकाशको परीको कुरा नगर ।
जून : आज राक्षसको कथा सुन्ने हो ?
बालिका १ : भो जून तिम्रो छिमेकमा बस्ने राक्षसको कुरा नगर ।
बालक २ : हामी परीको कथा नसुन्ने ।
बालिका २ : हामी राक्षसको कथा नसुन्ने ।
जून : त्यसो भए आज के सुनाऊँ त तिमीहरूलाई ?
तारा : भन न भन के खुसी दिऊँ त तिमीहरूलाई ?
बालक ३ : आज हाम्रो कुरा सुनिदेऊ !
बालिका ३ : आज पृथ्वीको कथा भनिदेऊ !
तीनजना बालक र तीनजना बालिका एकअर्काको हात समाएर गोलो बनाउँछन् र बिचमा जून तारालाई पारेर घुम्दै कुराकानि थाल्छन् :

जून : कसले ठग्यो तिमीलाई ? कोबाट ठगियौ तिमीहरू ?
बालक १ : हामी परी, ठग, राक्षस र राजाहरुको कथाबाट ठगिइरहेका छौं !
बालिका १ : हामी परीको, राक्षसको, राजाको, चोरको, ठगको, जादुको र देउताको कथा पढ्न बाध्य पारिएका छौं !
जून : के पढ्न चाहन्छौँ त तिमीहरू ?

बालक २ : हामी आफ्नै साथीको कथा पढ्न चाहन्छौं !
बालिका २ : मलाला जस्तै आफ्नो कुरा विश्वलाई भन्न चाहन्छौं !
बालक ३ : विज्ञानको कथा, भूगोलको कथा पढ्न चाहन्छौं ।
बालिका ३ : कक्षा कोठामा कथैकथा भन्ने मास्टर चाहन्छौं !
बालक १ : हामी …… हामी जुम्लाको कथा चाहन्छौं, हुम्लाको कथा चाहन्छौं ! रुकुम रोल्पा अनि यो पूरै देशको कथा सुन्न चाहन्छौँ !
बालक १, २, ३ र बालिका १, २ र ३ एकसाथ अगाडि सरेर दर्शकतर्फ हात फैलाएर आह्वान गर्दै :
हामी आफू र आफ्नो देशलाई चिन्न चाहन्छौँ !
हामीलाई हाम्रो माटोको कथा भनिदेऊ !
हाम्रो माटोको कथा पढ्ने मौका देऊ !

जून : त्यसो भए अब हाम्रो काम छैन, होइन त ?

बालक १ : होइन जून, हामीलाई तिम्रो उज्यालो मनपर्छ ।
बालिका १ : तिम्रो उज्यालो हामी आफ्नो ठाउँमा छर्न चाहन्छौँ ।

तारा : त्यसो भए अब हामी गए भयो होइन त ?

बालक २ : पर्ख, तारा पर्ख ! हामी तिम्रो सुन्दरता र चमक हरेक साथीहरूकाे जिन्दगीमा बाँड्न चाहन्छौँ ।

जून : अब के गर्ने त ? साथीहरूलाई निराश बनाउने ?
तारा : कुनै कथा नै नसुनाउने त ?

बालिका १ : सुनाउने अनि देखाउने !
बालिका २ : देखाउने, देखाउने !
बालक १ : तर, आफ्नै कथा सुनाउने- आफ्नै कथा देखाउने !
बालक २ : नछुने भएर विद्यालयमा हरेक दिन रुने सान्नानी दिदीहरुको कथा सुनाउने !
बालक ३ : तुइँन चढेर विद्यालय गएका कान्छाकान्छीको कथा देखाउने !
बालिका ३ : गुरुको कर्के आँखाले हरेक दिन धुरुधुरु रुने दिदीको आवाज सुनाउने !
बालिका २ : स्कुल बसमा आगो लगाइदिएर हात गुमाएकी राधिकाको आँसुको व्यथा देखाउने !

हात उठाएर मुठ्ठी पारेर कस्दै सबै बालबालिका कलाकारहरू लाम लाग्छन् र भन्छन् :

हामीलाई आफ्नै कथा चाहियो, आफ्नै कथा चाहियो ।

जून : तिमीहरू आफ्नो कथा आफै लेख्नू ! हजुरबुवा, हजुरआमासँग सोध्नू ! पुर्खाको इतिहास नि पढ्नू ! पहिला आफू को हुँ भनेर आफैलाई राम्ररी चिन्नू !
तारा : तिमीहरुको कथा हामी जान्दैनौँ !
आफ्नो भूगोल आफैँले चिन र अरुलाई चिनाऊ !
आफ्नो कथा, आफै सुन र लेख अनि अरुलाई सुनाऊ !
बालक १ : हुन्छ, हुन्छ … हामी आफ्नो कथामा जूनको उज्यालो ज्ञान हाल्छौँ ।
बालिका १ : ताराको चम्किलो खुसी हाल्छौँ ।
बालक २, बालिका २ र बालक ३ र बालिका ३ सबै बालकलाकारहरू एकसाथ भन्छन् :
त्यो ज्ञान र खुसी सबैतिर छर्छौंँ ।

(सबै कलाकार एक साथ लामबद्ध भएर)
अब पक्का भयो,
हामी आफ्नै कथा सुन्ने छौँ !
हामी आफ्नै कथा भन्ने छौँ !
अनि आफ्नै गीतमा नाच्ने छौँ !
आफ्नै कथामा नाटक खेल्ने छौँ !
अब हामी ‘साँच्चैको हिरो कृष्णबहादुर’ हरूको कथाको नाटक लिएर चाँडै तपाईंहरूमाझमा चाँडै आउने छौँ ।
जून : मान्छेको कथालाई हाम्रो सलाम छ !
तारा : मान्छेको कथा भन्ने र लेख्नेलाई हाम्रो प्रणाम छ ।

तर आफ्नो मनभित्र हृदयमा हामीलाई पनि जोगाएर राख्नू है साथीहरू !
तिमीहरूको आवाज हाम्रो मनमा सँधै गुन्जिरहने छ । (जून र तारा एकसाथ भन्छन्)
सबै बालकलाकारहरू एक साथ भन्छन् :
हस् हुन्छ … हुन्छ
बाई बाई जून !
बाई बाई तारा !
(जून र तारा उडेको अभिनयसाथ आकाशतर्फ लाग्छन् र मञ्चबाट हराउँछन् ।)
त्यसपछि बालकलाकारहरू दर्शकसँगसँगै ताली बजाउँदै आफ्नो वास्तविक परिचय दिँदै मञ्चबाट बाहिरिन्छन् ।
(मञ्च रित्तो हुन्छ तर बालबालिकाको आवाज भने हरेक दर्शकको हृदयमा गुन्जिरहन्छ)
(पर्दा बन्द )

Leave a Reply

Your email address will not be published. Required fields are marked *