काठमाडौँ, पुस १
दृष्टिविहीन बालबालिकाहरुका लागि छन्द वाचन तथा लेखन तालिम गत मंसिर २५ गते सम्पन्न भयो । लेबरोटरी स्कूल, दृष्टिविहीन शाखा, कीर्तिपुरमा आयोजित यस कार्यक्रममा ३९ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो । छन्द वाचन र लेखनमा चर्चित लेखक आदरणीय प्रभा भट्टराईले बालबालिकाहरुलाई रमाइलोसँग तालिम दिनुभएको थियो ।
बालसाहित्य प्रतिष्ठान नेपालद्वारा माता दुर्गादेवी देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजित यस तालिम कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षिकाहरु पनि सहभागी हुनुभएको थियो । कार्यक्रम बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयको सभापतित्व र दृष्टिविहीन शाखाका शिक्षिकाद्वय समिता शाक्य र बिन्द्या श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी बालबालिका तथा दृष्टिविहीन संगीत शिक्षक रमेश सुवेदीले लेखक प्रभा भट्टराई लिखित बालगीतहरु गाएर कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो ।
लेखक भट्टराई लिखित ‘फर्सी’ कविता कक्षा ४ को पाठ्यपुस्तकमा पढाइ हुँदै आएकाले उक्त कार्यक्रम सकिएपछि लेखक भट्टराईले कक्षा ४ मा अध्ययनरत ५५ जना आँखा देख्ने बालबालिकाहरुसँग पनि उक्त कविता रचना गर्दाको अनुभव सुनाएर कविता वाचन गर्दै अन्तरक्रिया गर्नुभएको थियो । उक्त कार्यक्रममा लेखकसँग हस्ताक्षर गर्दै पाठ्यपुस्तकमा पढेको लेखकलाई आफ्नो विद्यालयमा भेट्न पाउँदा बालबालिकाहरु अत्यन्त खुसी हुनुभएको थियो ।