उमेश कुमार चौरसिया भारतका वरिष्ठ नाटक लेखक र निर्देशक हुनुहुन्छ । उहाँ अजमेर, राजस्थान, भारतमा बस्नुहुन्छ । उहाँ प्रयोगधर्मी नाटक लेखक र निर्देशकका रुपमा सुपरिचित हुनुहुन्छ । राजस्थानी र हिन्दी भाषामा समान रुपले कलम चलाउनुहुने लेखक चौरसियाका नाटकहरु दूरदर्शन टिभी र आकाशवाणि रेडियोबाट प्रसारित भएका छन् । उहाँका बालनाटकहरुमा बालबालिकालाई रमाइलो गरी नैतिक मूल्य र जीवनोपयोगी शिक्षा दिन सफल देखिन्छन् । विभिन्न विशष्ट र महत्वपूर्ण पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल लेखक चौरसियाका दुई दर्जन कृतिहरु प्रकाशित छन् । यस पटक हामीले उहाँसँग बालनाटकबारे कुराकानी गरेका छौँ ।
प्रश्न १. बालनाटक के हो ? अहिलेका बालबालिकाका लागि कस्ता बालनाटकहरु आवश्यक छन् जस्तो लाग्छ ?
उत्तर : बालनाटक बाल मनोविज्ञानमा आधारित रही बालबालिकालाई मनपर्ने विषयमा मनोरञ्जन र प्रेरणा दिन लेखिने रोचक लेखन हो । यो मञ्चमा प्रदर्शनको लक्ष्यका साथ लेखिन्छ ।
अहिले बालबालिकाहरु अत्याधिक तनावमा छन् । उनीहरुले बाहिर खुला चौरमा खेल्ने अवसर पाउन पनि मुश्किल छ । उनीहरु पढाइको बोझले थिचिएर ओइलाएका छन् । तसर्थ अहिलेका बालनाटक बालबालिकालाई आनन्द दिने र मनोरञ्जनले भरिपूर्ण हुनुपर्छ । रमाइलो किसिमले आफ्नो इतिहास र संस्कृतिका बारेमा केही कुरा भन्ने बालनाटक अहिले आवश्यक छ ।
खेल्न पाउने कुरामा गाउँका बालबालिकाहरु भाग्यमानी छन् । तर उनीहरुसम्म पनि उनीहरुकै उमेर समूहका लागि तयार भएका ज्ञान र मनोरञ्नमूलक सामग्रीहरु पुर्याउनु हाम्रो कर्तव्य हो ।
प्रश्न २. बालसाहित्यलाई प्रभावकारी बनाउन बालनाटकले कस्तो भूमिका खेल्न सक्दछ ? तपाईंलाई कस्ता नाटकहरु क्षिक्षणका लागि पनि लेखिनुपर्छ जस्तो लाग्छ ?
उत्तर : नाट्यशास्त्रका अगुवा आचार्य भरतमुनिले नाटक सबै कलामध्ये श्रेष्ठ र प्रभावशाली विधा हो भनेका छन् । यसकारण बालबालिकाले नाटक अत्यन्त मनपराउँछन् । पढ्दा र अभिनय गर्दा बालबालिकाले नाटकमा आफू स्वयंलाई महसुस गर्न सक्दछन् ।
केही वर्षदेखि भारतमा एनसिआइटीले शिक्षालाई सरल प्रभावकारी बनाउन नाट्यविधासहित अन्य कलाको प्रयोग गर्दै आएको छ । यस कार्यक्रममा संलग्न भएर मैले पाठलाई अभिनय वा लघुनाटकका माध्यमले सम्झाउन अत्यन्त सजिलो हुने महसुस गरेको छु । साथै यसरी सिकिएको सिकाई जीवनभरि रहिरहने प्रभावकारी हुने पनि मैले महसुस गरेको छु । बालबालिकाहरु आफैँले नाट्य अभ्यासमा सहभागी हुँदै पटकपटक दोहोर्याएर पाठ पढ्छन् र अभिनयमा पनि रुचिपूर्वक भाग लिन्छन् । यसकारण गरेर सिक्ने यो प्रक्रिया अत्यन्त प्रभावकारी हुन्छ ।
मैले नौ वर्षदेखि शिक्षामा नाट्यविधाको प्रयोग गर्ने काम गरिरहेको छु । यस क्रममा मैले एनसिआइटीको थुप्रै पाठहरुको नाट्यरुपान्तरण गरी त्यसलाई कक्षाप्रस्तुतिको प्रयोग पनि धेरै पल्ट गरिसकेको छु ।
प्रश्न ३. बालनाटक लेख्न सिक्न चाहने नयाँ युवा लेखकलाई केही सन्देश दिन चाहनुहुन्छ कि ?
उत्तर : सबैभन्दा महत्वपूर्ण कुरा त केही लेख्न चाहनेले बढीभन्दा बढी निरन्तर पढ्नु जरुरी छ । त्यस्तै नाटक लेख्ने हो भने पनि केही राम्रा लेखकहरुको नाटकलाई राम्ररी पढ्नु आवश्यक छ । पढ्नेक्रममा उनीहरुको शैली, संवाद, दृश्य संयोजनलाई महसुस गर्नु र जान्नुपर्छ । त्यसपछि नाटक लेखन प्रयासका लागि उपर्युक्त कथानकको चयन गर्नुपर्छ । जुन कथानक नाट्यलेखनको लक्ष्य अनुकुल हुनुपर्छ । त्यसपछि उक्त कथालाई नाटकको कति दृश्यमा प्रभावशाली किसिमले देखाउन सकिन्छ ? आवश्यक पात्र कति जना र को को हुनसक्छन् ? भन्ने कुराको खाका तयार गर्नुपर्छ । अनि पात्रको पृष्ठभूमि अनुसारको संवादको बारेमा विचार गर्नुपर्छ । बालनाटकमा दृश्य र संवाद छोटो र सरल हुनु राम्रो हुन्छ । अब सोच्नुस् र लेख्न सुरु गर्नुस्, मेरो शुभकामना छ ।