‘दसैँ‘ बालप्रतिभा बन्दुमाया राईद्वारा लिखित बालकविता संग्रह हो । राई एसओएस बालग्राम काभ्रेमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । गत चैत्र २२ गते आइतबार एसओएस बालग्राम काभ्रेको विद्यालय प्रांगणमा यो कृति विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा अग्रज व्यक्तित्वहरु श्री रामकृष्ण दुवाल, श्री जयन्ती स्पन्दन, श्री सुशीला देउजा, डा. ध्रुव घिमिरे, श्री प्रमोद प्रधान, श्री सुरेन्द्र अम्गाई र कार्तिकेय घिमिरे लगायतले यस कृति संयुक्त रुपमा विमोचन गर्नुभयो । समारोहमा विमोचित दसैँ बालकविताकृतिका चित्रकार विनीता बुद्धाचार्य र लेखक बन्दुमाया राईलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कार्तिकेयको सभापतित्वमा सम्पन्न समारोहमा विमोचित कृतिका सम्पादक देवु लइँटेलले कार्यक्रम संचालन गर्नुभएको थियो । एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अमगाईले अतिथिहरुलाई स्वागत गर्नुभएको समारोहमा आदरणीय गायक/ संगीतकार रामकृष्ण दुवालको गायन, आदरणीय लेखक ध्रुव घिमिरेको कथावाचन प्रस्तुतिमा बालबालिकाहरु अत्यन्त रमाएका थिए । कार्यक्रममा लेखक कार्तिकेय र जयन्ती स्पन्दनले पनि कथावाचन गर्नुभएको थियो ।
समारोहमा लेखक राईलाई साहित्य सन्ध्याको तर्फबाट ‘मन बालप्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो । बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित यस कृति कार्तिकेय ट्रस्ट नेपालको सहयोगमा प्रकाशित भएको हो । मोटो गातामा पनि प्रकाशित यस कृतिको बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम लेखक राईलाई उनको शैक्षिक सहयोगका लागि प्रदान गरिएको छ ।