बालसाहित्यलेखक सूर्यप्रसाद लाकोजूद्वारा लिखित मकरको कथा बालकृति प्रकाशित भएको छ ।
नेपाली साहित्य, बालसाहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा अत्यन्त सक्रिय सर्जक लाकोजू कृति प्रकाशनका सम्बन्धमा भन्नुहुन्छ :
”बालबालिकाहरूलाई हाम्रा प्राचीन कथाहरू, संस्कृति, परम्परा, रीतिरीवाज आदिका बारे जानकारी दिने लक्ष्यका साथ यो मकरको कथा प्रकाशन गरिएको हो । यो चित्रकथा हो । यस कथामा पात्र र विषयवस्तुका आधारमा रङ्गिन चित्रहरू राखिएका छन् । आशा छ, पनौतीमा हरेक बाह्र वर्षको एक पल्ट माघ महिनाभर लाग्ने मकरमेलाका बारेमा बालबालिकाहरूले अवश्य केही जानकारी प्राप्त गर्नेछन् । यो पुस्तकको अंग्रेजी भाषा संस्करण पनि प्रकाशित भएको छ । दुवै भाषामा रहेको कथा पढेर बालबालिका रमाउने छन् भन्ने आशा लिएको छु ।”
पुस्तकमा कथाको विषयवस्तु अनुसारका आकर्षक चित्र राखिएका छन् । प्रतिभाशाली चित्रकार प्रकाश रञ्जितको चित्राङ्कनमा सजिएको पुस्तक आकर्षक रहेको छ ।
दुई दर्जन कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विविध विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत लेखक हुनुहुन्छ ।