मेरो गाउँ ज्यामिरे
जमुनीको छोरो म
काले भन्छन् मलाई
तर मान्छे गोरो म
—
सबै पढ्न गएछन्
जान्नेसुन्ने भएछन्
म त अझै गोठमा
छैन हाँसो ओठमा
—
किनकिन मन यो
दुखेदुखे जस्तो छ
यो ज्यामिरे गाउँमा
कुरो मात्र सस्तो छ
—
सबै भन्छन् मलाई
स्कुल किन नगाको
कसैले नि बुझेनन्
कापी कलम नभाको
—
मेरो सानो गोठ नै
मेरो सानो स्कुल
गोबरका अक्षर
पढ्न लेख्न मुस्किल ।
- रामबाबु सुवेदी