अब बालबालिकालाई विद्यालयमा नै खोप : मन्त्री खतिवडा

राष्ट्रिय समाचार

काठमाडौँको वीर अस्पतालमा बुधबार खोप लगाउँदै बालबालिका । फोटो : केटाकेटी अनलाइन ।

काठमाडौं, पुस १ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । स्वास्थ्यमन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताउनुभएको हो । उहाँका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ ।

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । उहाँले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिनुभयो । महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा भइरहेको उहाँको भनाई छ ।

थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *