काठमाडौँ २०७८, पुस ३/ शनिबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ ।
काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो कर्णाली, गण्डकी तथा वागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आजराति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा बदली रहनेछ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।