भारतमा बालबालिकाका लागि खोप अभियान

अन्तर्राष्टिय समाचार

भारतद्धारा १५ देखि १८ वर्षका बालबालिका लक्षित कोभिड विरुद्धको खोप अभियान शुरु गर्ने घोषणा/भारतमा ६१ प्रतिशतले दुबै मात्रा र ९० प्रतिशतले लगाए एक मात्रा खोप ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्ने घोषणा गर्नुभएको छ । टेलिभिजन मार्फत् सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सन् २०२२ को जनवरी ३ बाट बालबालिका लक्षित खोप अभियान शुरु हुने बताउनु भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणका कारण त्रासमा रहेका अभिभावकको चिन्ता खोप लगाएर अन्त्य गरिने भारतीय प्रधानमन्त्री मोदीको भनाइ छ ।

यसै गरी स्वास्थ्यकर्मी लगायतका अग्रपंङ्तीमा खटिने जनशक्तिका लागि जनवरी १० बाट बुस्टर डोज खोप अभियान शुरु गरिने पनि जानकारी दिइयो । यसै गरी बुस्टर डोजका लागि ६० वर्ष माथिका अन्य कुनै रोगबाट ग्रसित विरामी छनौटमा परेका छन् । उनीहरुलाई चिकित्सको सल्लाहमा खोप लगाउन भनिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार भारतमा हालसम्म ३५८ जनामा ओमिक्रोन संक्रमण भएको छ ।

भारतले कोरोना विरुद्धको खोप अभियान यसै वर्षबाट शुरु गरेको हो । हालसम्म ६१ प्रतिशत वयस्क जनसंख्याले दुबै मात्रा खोप लगाएका छन् भने ९० प्रतिशतले एक डोज खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *