तनहुँ २०७८ पुस ४/ (रासस)/ बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।
बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताउनुभयो ।
फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधायुक्त कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए पनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले पार्कको निर्माण गरिएको जानकारी दिइयो ।