ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

राष्ट्रिय समाचार

नवलपरासी, ४ पुस (रासस)/ दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताउनुभयो । सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाएको छ । त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रु बाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको बताइएको छ ।

२२ डिसेम्बरबाट पटनाले भन्सार खोल्ने भनिएको छ । त्यसपछि यो नाकामा अझै कडाइ गरिने जानकारी दिइयो । त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा बाल्मीकी आश्रम जाने मानिस मात्रै आवातजावत गरेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको जानकारी दिइयो । कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको उहाँको भनाइ छ । जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *