युरोपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण व्यापक वृद्धि/स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने विश्व स्वास्थ्य संगठनको चेतावनी ।
युरोपमा बढ्दो कोरोनाको ओमिक्रोनको संक्रमणले त्यहाँको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिएको भन्दै विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीले सचेत गराएका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम ग्रेब्रिएससले बढ्दो ओमिक्रोन संक्रमणबाट जीवनलाई रद्द गर्नुभन्दा निर्धारित कार्यक्रम रद्द गर्न उचित रहेको बताउनु भएको छ ।
संक्रमितको संख्या वृद्धिले युरोपमा संक्रमणको अर्को आँधी नै आउन सक्ने संकेत गरेको अधिकारीहरुले गरेका छन् । डब्लु.एच.ओको चेतावनीसँगै युरोपका धेरै देशहरुको कोरोना महामारी विरुद्ध प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिसकेका छन् ।
युरोपमा बेलायत, फ्रान्स, जर्मनी र स्पेन उच्च संक्रमणको मारमा छन् । जर्मनीले हालै क्रिसमस लगत्तै लागू हुने गरी सामाजिक दुरी कायम गर्ने र पार्टी लगायतका जमघट हुने गतिविधिमा रोक लगाएको छ । यसै गरी पोर्चुगलले आगामी २६ डिसेम्बर देखि लागू हुने गरी बार र नाइटक्लव बन्द गर्ने निर्णय गरेको छ ।
बेलायतले सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्नुका साथै भेटघाट र जमघटलाई नियन्त्रित गरेको छ । दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन भाइरस विश्वभर फैलिएको छ । युरोपका ५३ देश मध्ये ३८ वटामा ओमिक्रोन फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।