खलङ्गा, ८ पुस/ बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । बालविवाह सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रुपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताउनुभयो ।
गाउँमा बालविवाह लुकिछिपी भइरहेका छन् । सो तथ्याङ्क सङ्कलन हुन सकेको छैन । स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ । यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ । शिक्षक, कर्मचारी, जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ । उनीहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष रोकायाले बताउनुभयो ।”
गाउँपालिकाले नीति तथा कार्यक्रममै ‘विहेबारी २० वर्षपारी’ भन्ने कार्यक्रम अघि बढाइसकेको छ । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रुपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताउनुभयो ।
– रासस