तुलसीपुर, २०७८ पुस ११ (रासस)/ अभिभावकविहीन भई सडकमा भौतारिरहने बालबालिका विद्यालय जान पाएपछि भने सबैलाई जितेर उत्कृष्ट नतिजा ल्याएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् ।
सोही वडामा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत ती बालक सबै कक्षामा प्रथम, द्वितीय वा तृतीय हुने गरेका छन् । प्रथम त्रैमासिक परीक्षामा नर्सरीबाट सन्तोष थापाले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । नर्सरीमा चार विद्यार्थीले पठनपाठन गरिरहेका छन् । त्यस्तै एलकेजीमा निखिल खत्रीले प्रथम स्थान हासिल सफल गर्न सफल भएका छन् । एलकेजीमा दुई विद्यार्थी अध्ययनरत छन् । त्यस्तै युकेजीमा दिलीप मगरले प्रथम स्थान हासिल गरेका छन् । अहिले युकेजीमा चार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै कक्षा १ मा रेखा विकले प्रथम स्थान हात गरेकी छिन् । युकेजीबाट कक्षा जम्प गरेर १ मा आएकी सुनिता विकको पनि पढाइ राम्रो छ ।
कक्षा १ मा दुई विद्यार्थी अध्ययनरत छन् । त्यस्तै कक्षा २ मा अध्ययनरत राजेश चौधरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै कक्षा ३ मा सुस्मिता चौधरी कक्षा प्रथम भएकी छिन् । कक्षा ३ मा संस्थाका सात विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै कक्षा ५ बाट मञ्जु चौधरी प्रथम हुन सफल भएकी छिन् । सोही कक्षामा अहिले दुई विद्यार्थी अध्ययनरत छन् । अहिले संस्थामा २२ विद्यार्थीलाई राखिएको अध्यक्ष स्यानी चौधरीले जानकारी दिनुभयो ।
सन्तानजस्तै माया आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिइरहेको उहाँले बताउनुभयो । “उनीहरुलाई आफ्नै सन्तान जसरी माया दिएर राखेकी छु”, उहाँले भन्नुभयो, “बालबालिकालाई भविष्यमा ठूलो मान्छे बनाउने मेरो लक्ष्य छ ।”
ती बालबालिकालाई साँझ–बिहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताउनुभयो । विद्यालयमात्रै पढेर नहुने भन्दै उहाँले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको बताउनुभयो । विसं २०६१ देखि संस्थाले पिछडिएका, गरिब तथा सहाराविहीन विद्यार्थीको भविष्य उज्ज्वल बनाउँदै आएको छ भने २०७५ देखि उहाँले आफैँ बालबालिका राखेर पठनपाठन गराउन थाल्नुभएको हो ।।