स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा बुस्टर डोज अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि बुस्टर डोज खोप अभियान कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्रालयले मंगलबारदेखि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिन थालिएको थियो ।
कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । मन्त्रालयले मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त मात्रा खोप दिइन थालेको थियो ।।