कर्णाली, २२ पुस (रासस)/ गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्लाका तीला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् आयोजना बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् । करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिरोले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा उज्यालो छैन ।
स्थानीयवसीले अहिले देवदार वा सल्लोको दियालो बालेर काम चलाउँदै आएका छन् । त्यहाँका स्थानीयले अहिले मोबाइल समेत चार्ज गर्न पाएका छैनन् । विद्युत् नहुँदा कुटानी पिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन् । तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको स्थानीयको गुनासो छ । मान्छेहरु खाना पकाउने, टिभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युत्बाटै गर्छन् तर आफूहरुलाई घरमा उज्यालो हुने बिजुली नभएको स्थानीयको गुनासो छ । आफूहरु जस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने ? सामान्य मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न नपाएको उनीहरुको दुखेसो छ ।
बाढी र पहिरोले तीला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पुर्याउनुका साथै सयौँ कित्ता जमिन कटान गरेको छ । त्यस्तै बाढीले सयौँ किसानको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैँचा, स्थानीय घट्ट, चिरानी, कुटानीपिसानी मिल बगाएको थियो । क्षतिबाट प्रभावित क्षेत्रका नागरिकले अहिलेसम्म महसुस हुने गरी कुनै पनि सरकारबाट राहत प्राप्त गरेका छैनन् ।