नवलपुर, २६ पुस (रासस)/ यस वर्षको जलपन्छी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पन्छी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिनुभयो ।
“यी दुई प्रजातिका चराहरु गतवर्षको पन्छी गणनामा भेटिएका थिएनन् तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो” – उहाँले भन्नुभयो ।
चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपन्छी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उहाँले बताउनुभयो ।
“चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए”, संयोजक चौधरीले भन्नुभयो ।
यस वर्षको गणनामा सिम कुखुरा, सिन्दूरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निप, कैलोटाउके हाँस लगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।
नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी पाइएको छ ।
साइबेरियालगायत उत्तरी गोलाद्र्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका छन् । गत वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो । कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गतवर्षको तुलनामा न्यून देखिएका छन् ।
चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गत वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो । निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको जनाइएको छ ।