१
यो धर्ती मेरो छाती, राष्ट्र मेरो स्पन्दन
नेपाल मेरी आमा, म उनको प्यारो नन्दन
हजार तीर्थभन्दा तिम्रै आँगन छ पवित्र
स्वदेश नै पूजा मेरो, यै माटो मेरो चन्दन ।
२
फूलप्रसाद हातमा लिएँ भगवान् भक्ति गाढा लाग्यो
बाटाभरि अनाथ देख्दा पूजापाठ नै आधा लाग्यो
प्रत्येक मुहार ईश्वरजस्तो, सबै प्रसाद बाँडिदिएँ
फर्किएँ घर त्यहींबाट, मन्दिर मलाई टाढा लाग्यो ।
३
जति नै उडे पनि थाक्छ चरा, आकाश थाक्दैन कहिल्यै
जति नै पौडे पनि थाक्छ माछा, समुद्र थाक्दैन कहिल्यै
धेरै जाने बुझें भनेर भ्रममा पर्नुहुँदैन मान्छे
जति पढे पनि थाक्छ मस्तिष्क, ज्ञान थाक्दैन कहिल्यै ।
लेखक परिचय
वि.सं. २०११ वैशाख पूर्णिमाका दिन जन्मिनुभएका आदरणीय लेखक रामकाजी कोने सुपरिचित मुक्तककार हुनुहुन्छ । उहाँका ‘मुक्तक मेला’, ‘मुक्तक मन्त्र’ र ‘मुक्तक मोहिनी’ गरी तीनवटा मुक्तक सङ्ग्रह प्रकाशित छन् । उहाँको ‘मुक्तक मोह’ नामक मुक्तक सङ्ग्रह ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तककार कृति हो ।
पेसाले पर्यटन व्यवसायी भए पनि लामो समयदेखि साहित्य र समाजसेवाका क्षेत्रमा सक्रिय सर्जक कोने नेपाल मुक्तक प्रतिष्ठान, पश्चिमाञ्चल विकास मञ्च र कोने कल्याण कोषका अध्यक्ष र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार हुनुहुन्छ ।
उहाँले समाज कल्याण परिषद्का पूर्व कार्यकारी सदस्य, नेपाल बालसंगठनका पूर्व केन्द्रीय महासचिव लगायत थुप्रै समाजिक संघसंस्थाहरुमा आबद्ध भई समाजसेवाको क्षेत्रमा पनि विशेष योगदान गर्दै आउनुभएको छ ।
मुक्तक लेखनमा स्थापित मुक्तककार कोनेले सकला देवी बालप्रतिभा पुरस्कार, सकला सिद्वार्थ वाङ्मय पुरस्कार, रुपन्देही र खड्ग सिंह जेहेनदार छात्रवृत्ति (विरेठाँटी, कास्की) को स्थापना गर्नुभएको छ। उहाँ वैजयन्ती सम्मान, नरबहादुर भारती सम्मान, भद्र घले सेवा सम्मान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (यू.के.), लायन्स क्लबबाट विशेष सम्मान आदिबाट सम्मानित प्रतिभा हुनुहुन्छ ।