भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२–१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभिड–१९ खोप सम्बन्धी हालसम्म कुनै निर्णय लिइ नसकिएको जनाएको छ । भारतले १५–१८ वर्षको उमेर समूहमा कोभाक्सिन खोपको ३.५ करोडभन्दा बढी पहिलो मात्रा समावेश गरेको हुनाले यस उमेर समूहका लागि खोप अभियानको पहिलो चरण यस महिनाको अन्तसम्म पूरा हुने आशा गरिएको छ । तर, १२–१४ वर्ष उमेर समूहका बालबालिकाको खोप कहिलेदेखि लगाउने भन्नेबारे भने कुनै आधिकारिक निर्णय भइसकेको छैन ।
विज्ञहरुका अनुसार १५–१८ वर्ष उमेर समूहका किशोर किशोरीहरू खोप प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन् । सोमबार संघका स्वास्थ्य मन्त्री मनसुख मण्डलाले १५ देखि १८ वर्ष उमेर समूहका सबै किशोर किशोरीलाई सरकारको खोप अभियानमा उल्लेख्य सहभागिता जनाएकोमा धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर २५ मा घोषणा गरेपछि त्यहाँ २०२२ जनवरी ३ देखि १५–१८ वर्षका बालबालिकालाई खोप लगाउन थालिएको थियो । खोप लगाउने अहिलेको रफ्तार हेर्दा भारतले आगामी मार्चमा १२–१४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोभिडको खोप लगाउन सुरू गर्नसक्छ ।