हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी पिउँदै स्थानीय जनता

Featured राष्ट्रिय समाचार

दार्चुला, १४ माघ (रासस)/ दार्चुला जिल्लाका हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ । सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन ।  ती सुरक्षाकर्मीले हिउँ पगालेर पानी खाएर बसेको बताएका छन् । पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ । पानीको पाइप पूरै वरफ बनेको छ । पानी खाने विकल्प नभएपछि हिउँ पगालेर पानी पिउने गरेको उनीहरुको भनाइ छ ।  चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनु परेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् ।

गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ । राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ । मालिकार्जुनको मन्दिर क्षेत्रमा परेको हिउँको फोटो अधिकांशले सामाजिक सञ्जालमा शेयर गरेका छन् । स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ । यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *